• १० जेठ २०८१, बिहिबार

बुद्धशान्ति गाउँपालिकाको नीति तथा कार्यक्रम संशोधनसहित पारित

blog

शुक्रबार बसेको बुद्धशान्ति गाउँपालिकाको १२ औँ गाउँसभा अधिवेशन । तस्बिर : लिलाराज झापाली

लिलाराज झापाली
बिर्तामोड, असार ९ गते । 
झापाको बुद्धशान्ति गाउँपालिकाको १२ औँ गाउँ सभा अधिवेशनले वार्षिक नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ ।  गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको अध्यक्षतामा बसेको गाउँ सभाले आर्थिक वर्ष २०८०/८१  को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रसाईँले गाउँपालिकाको नीति तथा कार्यक्रम शुक्रबार पेस गर्नुभएको थियो । नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४, बजेटका सिद्धान्त र उद्देश्य दिगो विकासका लक्ष्य तथा रणनीति लगायतको विषयहरूको सैद्धान्तिक र व्यवहारिक पक्षहरूलाई आत्मसाथ गर्दै बुद्धशान्ति गाउँपालिका आम नागरिकको आवश्यकता र मागलाई ध्यानमा राखी गाउँपालिका अध्यक्ष प्रसाईँले १७ पृष्ठ लामो नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।

गाउँपालिकाले निकै लामो समय सम्म बजेटको तयारी र छलफल गरी ल्याएको नीति तथा कार्यक्रममा लोकतन्त्र प्रति पूर्ण प्रतिबद्ध, सुशासन, गाउँवासीहरू प्रतिको उत्तरदायी प्रशासनिक कार्य, भ्रष्टाचारमुक्त सभ्य र सुसंस्कृत समाज निर्माणका लागि कर्तव्यनिष्ठ भई सुदृढ ढङ्गले लाग्ने कुरा उल्लेख गरिएको छ ।

पालिकाले समानता र न्यायको पक्षपोषण गर्दै सबै प्रकारका भेदभाव र अन्यायहरूको अन्त्य, सामाजिक न्यायको प्राप्ति र सबैका लागि समृद्धि आफ्नो मूल नीति लिएको छ ।

नागरिकहरूको नजिकमा रहेर नागरिकलाई पुर्‍याउनु पर्ने शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पूर्वाधार निर्माणलगायतका सार्वजनिक सेवा सुविधाको प्रभावकारी ढङ्गबाट प्रवाह गर्ने श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागितामार्फत कम नगद लागतमा श्रममूलक योजनाहरू सञ्चालन गरिने बताइएको छ ।

खोला नदी उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरूको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथा सामूहिक खेती गरी गाउँपालिकाको आन्तरिक श्रोतलाई मजबुत गर्दै लैजाने उल्लेख छ ।

सञ्चालन हुने योजनालाई पारदर्शी र जनमुखी बनाउन हाल देखिएका समस्याहरूलाई सम्बोधन गर्न स्थानीय दररेट ढुवानी, भूमिहीन दलित सुकुम्वासी अव्यवस्थित बसोबासहरूको समस्या समाधान गर्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ ।