• १२ मंसिर २०८१, बुधबार

मन्त्री सिंहको शव यात्रा सहित अन्त्येष्टि गरिँदै

blog

शैलेन्द्र रोकाया 

बझाङ , असार ९ गते । सवारी  दुर्घटना परि निधन हुनु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह र उहाँकी धर्मपत्नी अमृतादेवी सिंहको शनिबार अन्त्येष्टि गरिने भएको छ ।

बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीरलाई शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजारमा शव यात्रा गरी  नेपाली काङ्ग्रेस पाटी कार्यालय चैनपुरमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौलाबगर मसान घाट ढुङ्ग्रीमा अन्त्येष्टि गरिने भएको हो ।

मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लागेकाले चार दिनपछि (शनिबार) आज अन्त्येष्टि गरिन लागिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । डडेलधुराबाट गृह जिल्ला बझाङ आउने क्रममा मङ्गलबार मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुप प्र ०१ ००१ झ ४८० नम्बरको जिप मङ्गलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

उहाँलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिंहको शव मङ्गलबार राति नै धनगढी ल्याएर बुधबार धनगढी रङ्गशालामा अर्पण पश्चात् हेलिकप्टर मार्फत गृह जिल्ला बझाङ ल्याइएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीको थप उपचारका लागि कोहलपुरबाट काठमाडौँ लगिएको छ । 

मन्त्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाल सरकारका परराष्ट्र मन्त्री एन पी साउद, सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह , प्रतिनिधि सभा सदस्य बद्री पाण्डे, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनजङ बहादुर सिंह , केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली लगायतका केन्द्रीय नेताहरू बझाङ आइ पुग्नु भएको छ ।