बाबुराम शर्मा
दोलखा असार ९ गते । एक सय वर्षभन्दा पुरानो दोलखाको बिगु गाउँपालिका –३ र गौरीशङ्कर गाउँपालिका –८ जोडने तामाकोसी नदीको जीर्ण तेल दल्ने जामुने साङले झोलुङ्गे पुल अहिले मर्मत सम्भारपछि सञ्चालनमा आएको छ ।
स्थानीय आचार्यका पुर्खाले १९७३ सालमा र २००४ सालमा निर्माण गरिएको सो पुल मर्मतपछि तेल दलेर सञ्चालनमा आएको छविलाल आचार्यका पनाति अमृतकुमार आचार्यले जानकारी दिनु भयो ।
उहाँका अनुसार १९७३ सालमा छविलालले बनाएको दुई साङलेलाई २००४ सालमा प्रयागराज, कोमलप्रसाद, कलाधर, देवदत्त र गौरीकान्त आचार्यले थप गरी चार साङले बनाइएको थियो । अन्य सडकहरू निर्माण हुनु र भूकम्पले क्षति पुगेपछि जीर्ण बनेर रहेको थियो । अहिले मर्मत गरेपछि सञ्चालनमा आएको हो ।
यो पुल पुर्खाको योगदान र ऐतिहासिक पनि भएकाले सन्ततिसम्म पुर्याउन पनि मर्मत गरिएको हो । छविलालका सन्तानहरूले नै आर्थिक सङ्कलन गरी पुल मर्मत गरिएको हो । उहाँले भन्नु भयो, १० लाख रुपियाँमा पुलको जिप पूर्ण निर्माण , फाउन्डेसन, सिक्री फेरियो, काठ नयाँ राखेर तेल दलिएको छ ।
पहिले तामकोशी नदीका वारपार गर्न लामाबगर,साँघुरे,सुरीदोभान,भोर्ले,सिँगटी,पिखुती,नागदह लगायतका स्थानमा यस्ता बनेका पुलहरूको अहिले नामनिसान छैन । पहिले यी सबै पुल व्यक्तिले आफ्नै खर्चमा बनाएका हुन् ।
सय बर्सअघिका धेरै पुल मासिए पनि जामुनेमा रहेको साँघु नदीमा खस्ने अवस्थाको पुललाई मर्मत गरेपछि सञ्चालनमा आउन सकेको हो । तत्कालीन समयमा पुर्खाले बनाएका यस्ता पुल संरक्षण भएको भए राम्रो हुन्थ्यो ।
तामाकोसी नदी तरेर उ बेला लुगाफाटो किन्न काठमाडौँ गएको सम्झना ताजै छ ७४ वर्षीय रत्न बहादुर जिम्बालाई । २०१९ सालमा १३ वर्षको उमेर उहाँ पहिलो पटक काठमाडौँ लुगा किन्न पुग्नु भएको थियो । उहाँले भन्नु भयो, तामाकोसी नदीमा बनेको स्थानीय भाषामा फलामे साँघु तरेर एक हप्ता लगाएर काठमाडौँ पुगेको थिएँ । तामाकोसी नदी तर्न ठाउँठाउँ फलामे साँघु हालिएका थिए । यी फलामे साँघु तत्कालीन सरकारले नभएर व्यक्तिले बनाएका थिए । रामेछापको ठोसे मेक्चनमा रहेको फलाम खानीबाट काँचो फलाम बोकेर हप्तौँ लगाएर फलाम ल्याइन्थ्यो ।
यो फलामलाई साँघु निमार्णस्थलमा आरन राखेर कालिगढले साङलोको आकार दिन्थे । तत्कालीन समयमा यस्ता साँघु बनाउन कम्तीमा छ महिना लाग्ने गरेको बताउँदै उहाँले भन्नु भयो, काँचो फलाम डोकोमा बोकेर ल्याइन्थ्यो । म जन्मनुअघि बाउ बाजेको पालामा बनेको हो साँघु । बाउ बाजेले भनेकै आधारमा हामीले थाहा पाएका हौँ ।
आचार्यहरूले साँघु रेखदेखका लागि आफ्नो निजी जग्गा गुठी बनाएर तेल दल्ने व्यवस्था मिलाउनु भएको थियो । घामपानीले फलामका साङ्लामा खिया लाग्ने र चुँडिने हुँदा प्रत्येक वर्ष साँघुका साङ्लामा विशेष तरिकाले तेल दलिन्थ्यो । २०२८ सालपछि साँघुमा तेल दल्न बन्द भयो ।
काँचो फलाम हप्तौँ लगाएर बोकेर ल्याइन्थ्यो । साँघु बनाउनेस्थलमा भारीका भारी दाउरा ल्याएर फलाम गालेर साङला बनाइन्थ्यो । त्यसपछि ढुङ्गामा गहिरो प्वाल खोपेर फलामका ठेडी गाडिन्थ्यो । सो ठेडीमा अङ्कुश बनाएर साङला तन्काएर साँघु हालिन्थ्यो । सा“घुमा स्थानीय टुनी जातका फल्याक हालिने गरिन्थ्यो । साँघु तर्दा हल्लिन्थ्यो तर साङला मजबुत बानेकाले चुँडिने डर थिएन ।
तत्कालीन समयमा फलामे साङलाले बनेका सा“घुको उपमा पाएका यस्ता सा“घुमा वर्षमा एक पटक तेल दल्ने चलन थियो । व्यक्तिले बनाएकाले कुनै पनि साँघु कहिले बनाइयो भनेर लिपि राखिएको थिएन । स्थानीयका अनुसार तामाकोसी नदीमा यस्ता फलामे साँघु डेढ दशकअघिदेखि थिए । खास गरी तामाकोसी कोरिडोर चीन,नेपाल भारत व्यापारिक मार्ग पनि हो । व्यापारिक मार्गकै कारण देशकै पुरानो मध्येको लामाबगर भन्सार कार्यालय अझै पनि छँदै छ ।