• ७ मंसिर २०८१, शुक्रबार

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण

‘नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार’

blog

काठमाडौं, असार ८ गते। एक अध्ययनले नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको देखाएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसंख्यक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको हो। 

मन्त्रालयका स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले सर्वेक्षणले नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिएता पनि स्वास्थ्यका केही क्षेत्र अझ पनि स्थिर रहेको बताउनुभयो।  

यो सर्वेक्षणले देशको नीति तथा कार्यक्रम तय गर्न आवश्यक सहयोग पुग्नेमा गुरागाईंले विश्वास व्यक्त गर्नुभयो। सर्वेक्षणले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचार, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखाएको छ। उक्त सर्वेक्षणले नेपाली महिलाले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेका देखाएको छ।

९४ प्रतिशत गर्भवतीले दक्ष स्वास्थ्यकर्मीसँग गर्भ जाँच गराएको सर्वेक्षणले देखाएको छ।  सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षणमा २५ प्रतिशत महिलाले मात्र दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा प्राप्त गरेका थिए। 

सन् २०२२ को एनडिएचएस अनुसार ७३ प्रतिशत गर्भवतीले गर्भवस्थाको पहिलो तीन महिना भित्रमा पहिलो जाँच गराएका थिए। साथै ८१ प्रतिशत गर्भवती महिलालाले सिफारिस गरे अनुसार कम्तिमा चार पटक गर्भवती सेवा प्रप्त गरेका थिए। 


सन् १९९६ को आठ प्रतिशत जीवित जन्म मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए। सन् २०२२ को सर्वेक्षणले ७९ प्रतिशत जीवित जन्म स्वास्थ्य संस्थामा जन्मेको देखाएको छ।  बच्चा जन्मेपछि  १० मध्ये ७ महिला र नवजात शिशुलाई जन्मेको दुई दिनभित्र स्वास्थ्य जाँच गराइएको देखाएको सर्वेमा उल्लेख छ।  

त्यसैगरी, नेपालमा आधा भन्दा बढी ५७ विवाहित महिलाले परिवार नियोजनको साधन वा विधि प्रयोग गरेको अध्ययनले देखाएको छ। जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधान प्रयोग गरेका छन्। १५ प्रतिशतले परम्परागत विधि प्रयोग गरेको पाइएको छ। महिला बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधान वा विधि नेपालमा सबै भन्दा बढी प्रयोग भएको उक्त सर्वेक्षणमा देखाएको छ।  

अध्ययनले विगत साढे दुई दशकमा नेपालमा प्रजनन् दर आधाले घटेको देखाएको छ। सन् १९९६ मा प्रति महिलाले पाँच बच्चा जन्माउथे भने यो संख्या घटेर प्रति महिलाले २.१ बच्चा मात्र जन्माउने देखाएको छ।  

त्यस्तै अध्ययन अनुसार पाँच वर्ष मुनिको मृत्युदर उल्लेखनीय रुपमा घटेको छ। सन् १९९६ मा पाँच वर्ष मुनिका प्रति एक हजार जीवित जन्ममा ११८ को मृत्यु  हुने गथ्र्यो। सो संख्या घटेर हालप्रति एक हजार जीवित जन्ममा ३३ को मृत्यु हुने देखाएको छ।  

सन् १९९६ मा ५७ रहेको पुड्कोपन घटेर सन् २५ प्रतिशतमा झरेको देखाएको छ। त्यसैगरी, सर्वेक्षणले नेपालमा ६ महिनाभन्दा कम उमेरका शिशुलाई पूर्ण रुपमा स्तनपान गराउनेको संख्यामा उतारचढाव देखिएको छ।  

सन् १९९६ मा ७५ प्रतिशत थियो भने घटेर ५६ प्रतिशतमा झरेको छ। विश्व पोषण निर्देशिकाले शिशुलाई बाल मृत्यु तथा अन्य रोगबाट बचाउनको लागि जन्मेको पहिलो ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउन  सिफारिस गर्दैआएको छ। साथै नवजात शिुशु मृत्युदर पछिल्लो दशकमा प्रति एक हजार जीवित जन्ममा २१ मृत्युमा स्थिर रहेको देखिन्छ। किशोरीवस्थाको प्रजनन् दर उच्च रहेको देखिन्छ,जसमा १५ देखि १९ वर्ष समूहका १४ किशोरी गर्भवती हुने देखाएको छ।  

कोभिड खोपमा सफलता मिलेता पनि बाल्यकालमा लगाउने नियमित खोप कभरेज  अघिल्लो सर्वेक्षणको भन्दा घटेको देखाएको छ। हाल ८० प्रतिशत बालबालिकाले सबै आधारभूत एन्टिजेन्सविरुद्ध खोप लगाएका छन्। सन् २०२१ मा ८७ प्रतिशतले लगाएका थिए।  त्यस्तै एक मात्र खोप नपाएका बालबालिकाको प्रतिशतमा वृद्धि भएको छ। २०१६ मा एक प्रतिशत रहेको मा बढेर चार प्रतिशत पुगेको सर्वेले देखाएको छ। 


सर्वेक्षण अनुसार नेपालमा १५ भन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप देखिएको छ। त्यस्तै, एक लाख व्यक्तिमध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुनेगर्छ। जसमध्ये सबैभन्दा बढी मृत्यु वा घाइते भएका ६८ प्रतिशत सडक दुर्घटना, मोटरसाइकलको कारणले हुने सर्वेले देखाएको छ। सर्वेक्षणले १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषले चिन्ताका लक्षणा अनुभव गरेका देखाएको छ। 

नेपालमा सन् १९९६ बाट सुरु गरिएकोे जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण हरेक पाँच वर्षमा हुँदै आएको छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेलका अनुसार सर्वेक्षणमा राष्ट्रको पुरै प्रतिनिधित्त्व हुनेगरी १३ हजार ७८६ घरधुरीमा १४ देखि ४९ वर्षका १४ हजार ८४५ महिला र चार हजार ९१३ पुरुषलाई अन्तरवार्तामा सामावेश गरिएको थियो। 

सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बाट आर्थिक  सहयोग प्राप्त भएको थियो। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।