• ११ मंसिर २०८१, मङ्गलबार

दुई करोड ३३ लाख मूल्यको लागू औषधसहित १० जना पक्राउ

blog

लागू औषधसहित पक्राउ परेका विदेशी र नेपाली । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, असार ८ गते । प्रहरीले पछिल्लो दुई सातामा रु. दुई करोड ३३ लाख बढी  बजार मूल्य रहेको अवैध लागू औषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागू औषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँचजना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागू औषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । रासस