• २० असोज २०८१, आइतबार

हेवा खोला तर्न घिर्नी बनाइयो

blog

हेवा पारीबाट घिर्नीमार्फत खोलो तरेर भारपातर्फ जाँदै सशस्त्र प्रहरी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असार ८ गते। असार ३ गतेको बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको पाँचथरको हेवा खोलामा शुक्रबारदेखि घिर्नी बनाए मान्छे तार्न थालिएको छ। स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र युवाको पहलमा खोलामाथि टाँगिएका फलामका लट्ठामा कोक्रो आकारको घिर्नी जडान गरेर मान्छे तार्न थालिएको हो।

घिर्नीबाट मान्छे तार्न थालिएपछि छिमेकी जिल्ला ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाबाट सदरमुकाम फिदिम हुँदै इलाम र झापा जाने यात्रुलाई ओहोरदोहोर गर्न थालेका छन्। 

ताप्लेजुङ र हेवा पारी पर्ने पाँचथरका ग्रामीण भेगबाट सवारी साधनमा आएका यात्रु हेवा खोलामा बनाइएको घिर्नीबाट खोलो तरेपछि सवारी साधनको पहँुचमा आइपुग्न थालेका हुन्।

खोलापारीदेखि पारी मान्छे तार्न खटेका श्रमिकले एक सय रुपैयाँ शुल्क लिन्छन्। खोला तर्न १६ सेकेण्ड समय लाग्छ। यस्तै फिदिम तर्फबाट भारपातर्फ जान डेढ मिनेटको समय लाग्ने गरेको घिर्नीमा स्वयमसेवकको भूमिका निर्वाह गरिरहनु भएका फिदिम ४ का निर्वतमान वडाध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो।

घिर्नीमार्फत मान्छेसँगै सामग्री पनि तार्ने गरिएको छ। गुरुङसहितका युवाको सक्रियतामा हेवा खोला वारिबाट पाइप र मोटरको सहायताले खोला पारी पेट्रोल र डिजेल पनि पठाउनेकाम भइरहेको छ। 

फिदिम बजारका पेट्रोल पम्पबाट ड्रममा लगेर तेल खोला पारी सञ्चालन भएका सवारी साधनलाई उपलब्ध गराउन थालिएको हो। यसैबीच मानिसको आवतजावतलाई सहज बनाउन नेपाली सेनाले हेवा खोलामै मोटरसाइकल तर्नसक्ने गरीको फड्के पुल निर्माण गर्न थालेको छ। पुल निर्माणमा सेनाका ३५ जना प्राविधिक खटेका रणशेर गणका गणपति बिमल राउतले जानकारी दिनुभयो। 

यसअघि स्थानीय प्रशासनले यसअघि हेवा खोलामा तुइनमार्फत तारेर जिल्लाको याङवरक गाउँपालिकाका बाढी पीडितलाई राहत पठाएको थियो।