• २१ पुस २०८१, आइतबार

बाँदरले हैरान पारेपछि कृषक सडकमा

blog

बाँदरले मकैमा क्षति पुर्याएपछि आन्दोलनमा उत्रिएका भीरकोटका कृषक। तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, असार ८ गते। स्याङ्जाको भीरकोट नगरपालिकाका कृषक बाँदरले हैरान पारेपछि सडकमा उत्रिएका छन्। घर भित्र्याउने बेलामा रहेको अन्नबाली बाँदर लगायतका जंगली जनावरले नराम्रोसँग क्षति गरेपछि उनीहरु सडकमा उत्रिएका हुन्। 

हातमा ‘बाँदर आतक बन्द गर’ भन्ने प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिनु भएकी धनमाया थापा भन्नुहुन्छ,“पाक्ने बेलाको मकै सबै बाँदरले खाइदियो कसरी गुजारा गर्ने” अर्की कृषक कुन्ती क्षेत्रीको आक्रोश पनि उस्तै छ, “राज्यले जंगली जनावर नियन्त्रणका लागि केही गरेन हामी कहिलेसम्म पीडामा बस्ने।’’ 

जंगली जनावरहरु बाँदर, दुम्सी, बँदेल तथा मृर्गले पाक्ने बेला भएको मकैमा नराम्रोसँग क्षति गरेको छ। भिरकोटमा बाँदर नियन्त्रण संघर्ष समिति नै बनाएर कृषक आन्दोलनमा उत्रिएका हुन्। जिल्लाका ११ वटै पालिकामा बाँदर लगायतले अन्नबालीमा नराम्रोसँग क्षति पुयाउँदै आएका छन्। 

पहाडी जिल्लामध्ये राम्रो मकै उत्पादन हुने जिल्लाको रुपमा स्याङ्जालाई चिनिने गरेको छ। जिल्लामा मकै खेती करिब २८ हजार हेक्टर क्षेत्रफल रहेकोले जिल्लालाई मकै पकेट क्षेत्रको रुपमा रहेको छ। 

आफूहरु मकै खेती जोगाउन पालो गरेर बाँदर कुर्ने गरेको कृषकको भनाइ छ। जिल्लाका कृषकले ९५ प्रतिशत उन्नत जातको मकै लगाएका छन्। जसमध्ये मनकामना ३ र अरुण जातका मकैको बिउ प्रयोग गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख प्रमुख बिनोद हमालले जानकारी दिनुभयो। 

गत वर्ष जिल्लामा ५४ हजार म्याट्रिक टन उत्पादन भएको थियो। यो वर्ष भने खडेरी र जंगली जनावरको कारण उत्पादन प्रभावित हुनसक्ने कार्यालयको उहाँको भनाइ छ।