अमरराज नहर्की
तनहुँ, असार ८ गते । जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि सहिद लखनथापा –५ ताक्लुङगाउँ शोकमा डुबेको छ । स्थानीय कसैको आँखा ओभानो छैन । मृत्यु तथा घाइते भएका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढाबाट आफन्तजन गाउँमा पुगेका छन् ।
गएराति शहिद लगनथापा –३ पाप्ले खोलामा दुर्घटना हुँदा एकै गाउँका पाँच जनाले ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको हो । घट्नास्थमा एक महिला र चार पुरुषको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । विवाहको टिकाटालोका लागि जन्ति लिएर गएको तीन वटा सवारी साधनमध्ये फर्कनेक्रममा राति २ बजे प्रदेश ३–०१–०२३ च ४४२७ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना तथा स्थानीयले उद्धार गरेका थिए । जिप कच्ची सडकबाट २५० मिटर तल खसेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनकामना गोरखाबाट प्रहरी नायव निरीक्षक जीवलाल सुवेदीको कमाण्डमा ६ जना जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेको कमाण्डमा २० जनाको टोली उद्धारमा खटिएको थियो ।
घाइतेमध्ये सबैजना सोही ठाउँका छन् । घाइते हुनेहरुमा वर्ष ३८ को लालु थापा, वर्ष २१ को सुरज राना, वर्ष ६० को नरबहादुर थापा, वर्ष २५ को दोषबहादुर थापा, वर्ष ३० को होमबहादुर राना, वर्ष १३ का सन्दीपा राना घाइते हुुनुभएको छ ।
यसैगरी घाइते हुनेहरुमा वर्ष १८ को सुरज थापा, वर्ष ३७ को चन्द्र थापा, वर्ष ३० को कुलबहादुर राना, वर्ष २० का लक्ष्मी थापा, वर्ष १४ का मनिका राना र वर्ष १३ का प्रतीक राना घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेमध्ये लालु थापा, सुरज थापा र चन्द्र थापाको चितवन मेडिकल कलेज भरतपुरमा र अन्य घाइते तनहुँको आँबुखैरेनी बजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
घाइतेमध्ये सबैजना सहिद लखनथापा ५ पोखरीडाँडाका हुन् । घटनाले सिङ्गो गाउँपालिका स्तब्ध र मर्माहत भएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कसैको आँखा ओभानो छैन, सबै जना निराश भएका छन् ।’’
यस घटनाले आज गाउँपालिकामा शोक विदा दिइएको छ । गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवम् शिक्षण संस्थामा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा मृत्यु हुनेको शव पोस्टमार्टमपछि शुक्रबार आफन्तको जिम्मा लगाइएको छ ।