अमरराज नहर्की
तनहुँ, असार ८ गते । गोरखामा गएराति भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
गाउँपालिकाको उपप्रमुख इन्दिरा तिवारीले शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवम् शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । शहीद लखन–३ को सिलिङकोटबाट बेहुली लिएर शहीद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा शहीद लखन गाउँपालिका-५ ताक्लुङ पोखरी डाँडा बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकी नवीना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो । जिप कच्ची सडकबाट २५० मिटर तल खसेको थियो ।
घाइतेमध्ये नौ जनाको तनहुँको आँबुखैरेनीमा रहेको अस्पतालमा उपचार भइरहेको र तीन जनालाई भने थप उपचारको लागि भरतपुर लगिएको छ । दुर्घटनामा मृत्यु हुने सबै शहीद लखन गाउँपालिकाका हुनुहुन्छ । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको उपप्रमुख तिवारीले जनाउनुभयो ।