पोखरा समाचारदाता
पोखरा, असार ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकमा जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहाँले बिहीबार आयोजित बैठकमा यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामीले सर्वसाधारण नागरिकको सेवा सधैँ गर्नु पर्छ। दुःख परेका बेलामा सहयोगको आशा अझै धेरै हुन्छ। हामीले विपत्का समयमा सरकार हामीसँगै छ भन्ने महसुस नागरिकलाई गराउनुपर्छ। यो हाम्रो कर्तव्य पनि हो।” उहाँले प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्नुभएको छ। विपत्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन पनि दिनुभएको छ।
प्रदेश सरकारले विपत् व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राखेको र हरेक स्थानीय तह, सङ्घ संस्था, निजी क्षेत्रलगायत सबैको दायित्वभित्र विपत् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेको उहाँको भनाइ छ। मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबानलगायतबाट हुने क्षति न्यूनीकरणसँगै अन्य विपत्का घटनामा संवेदनशील भएर अघि बढ्न प्रदेश सरकारले उच्च सतर्कता अपनाएको उहाँले बताउनुभयो। तत्काल उद्धार र राहतका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले उपलब्ध सामग्री, साधन स्रोत स्टोर गरेर राख्ने नभई प्रयोगमा ल्याउन जोड दिनुभयो। मुख्यमन्त्री पाण्डेले बिहीबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गर्नुभएको छ।