• २० असोज २०८१, आइतबार

भुम्जुडाँडामा निकालियो दुधकोशीको पानी

blog

खोटाङ समाचारदाता

खोटाङ, असार ८ गते । सुक्खा क्षेत्र घोषणा गरिएको खोटाङको हलेसी क्षेत्रका सर्वसाधारणको घर–घरमा दुधकोशी नदीको पानी पु-याउने योजना अन्तिम चरणमा पुगेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ का तीन हजार ७५६ घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य राखिएको (बृहत् पम्पिङ) खानेपानी आयोजना अन्तिम चरणमा पुगेको हो।

दुधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्ने लक्ष्यका साथ २०७४ सालदेखि करिब एक अर्ब रुपियाँको लिफ्टिङ आयोजनाको कामअघि बढाइएको थियो। आयोजना सुरु भएको करिब सात वर्षमा डिकुवाको भुम्जुडाँडामा पानी आइपुगेको छ। हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाको लुलिमाबाट दुधकोशीको पानी १५० एमएमको पाइपमार्फत साढे चार हजार मिटरमाथि रहेको डाँडामा निकालिएको हो। 

दुधकोशीबाट १/१ लाख लिटरका छ स्टेपका छ वटा लिफ्ट ट्याङ्की हुँदै भुम्जुडाँडामा बनाइएको सातौँ स्टेपको ट्याङ्कीमा पानी निकालिएको हो। भुम्जुडाँडामा चार/चार लाख लिटरका तीन वटा ट्याङ्की निर्माण गरिएको छ। अब भुम्जुडाँडा ट्याङ्कीबाट पानी गाउँ गाउँमा वितरण हुने सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनाका इन्जिनियर रामविक्रम दाहालले बताउनुभयो। दुधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेव बेँसीबाट काभ्रेडाँडामा पानी निकाल्ने मुख्यलाइनको ठेक्का दिवा–महादेव खिम्तीले गरिरहेको छ। महादेव खिम्तीले २०७६ पुस १७ गतेसम्ममा ३१ करोड ७५ लाख ९६ हजार (भ्याट बाहेक) रुपियाँमा सम्पन्न गर्नेगरी २०७४ असार २१ गते ठेक्का सम्झौता गरेको थियो। उता महादेव बेँसीबाट काभ्रेडाँडामा पानी निकाल्नका लागि पम्प जडानको काम मात्र बाँकी रहेको दाहालले बताउनुभयो।  

भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार र बडहरेमा वितरण गर्ने वितरण लाइनको ठेक्का र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेव स्थान, दुर्छिम र मङ्गलटारमा वितरण गर्ने कामको ठेक्का दिइसकेको छ। पानी वितरण लाइनको काम धमाधम भइरहेको छ। केही ठाउँका वितरण लाइनको काम श्रमदानमार्फत गर्नुपर्ने हुन्छ। लामो समयसम्म लिफ्टिङको काम नहुँदा स्थानीयवासीले वितरण लाइनमा श्रमदान गरेका थिएनन् तर अहिले पानी डाँडामा निस्किएपछि वितरण लाइनको काम ठेक्का र श्रमदान दुवैतर्फ धमाधम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउतले बताउनुभयो। 

करिब तीनदेखि पाँच घण्टाको बाटोबाट बोकेर हलेसी क्षेत्रका बासिन्दाले खानेपानी ल्याउने गरेका छन्। ट्याङ्करले ल्याएको पानी किनेर पनि स्थानीय बासिन्दाले गुजारा चलाउँदै आएका छन्। अहिले दुधकोशीको पानी भुम्जुडाँडामा निस्किदा स्थानीयवासी हर्षित भएका छन्। वर्षौंदेखिको पानी समस्या अन्त्य हुनलागेको स्थानीय बागदल खत्री बताउनुहुन्छ। डाँडामा पानी निकाल्ने काम सकिएको र अब वितरणको काम पनि चाँडै गरिने नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो। दुधकोशीको पानी पिउनका लागि योग्य बनाउन शुद्धीकरण गर्न आवश्यक रहेकाले त्यसका लागि पनि पहल भइरहेको उहाँको भनाइ छ।