काठमाडौं, असार ६ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
स्व. सिंह नेपाली कांग्रेसका तर्फबाट वि.सं. २०७९ को प्रदेश सभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र तथा प्रदेश सभा १ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, ग्रामीण विकासमा उल्लेखनीय योगदान गर्नुभएका उहाँको मङ्गलबार गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो । ६५ वर्षीय सिंहको दुर्घटनामा परी असामयिक निधन भएकामा प्रतिनिधि सभाको आजको बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।
दुर्घटनामा उहाँकी पत्नी र भाउजूको पनि निधन भएको थियो । प्रतिनिधि सभाको बैठकले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदनासमेत प्रकट गरेको छ । रासस