नेपाली साहित्यको फाँटमा अहिले अत्यन्तै लोकप्रिय रहेको विधा हो– मुक्तक । मुक्तकका बारेमा यहाँ विभिन्न धारणा बनेका/बनाइएका छन् । सामान्यतयाः नामै अनुसार यसलाई कुनै पनि नियमभित्र नबाँधिईकनै ‘मुक्त’ भएर लेखिने विधा भनिन्छ, यद्यपि कविताकै वर्गका रूपमा यसलाई मान्यता दिइएको छ । तर अर्को पक्षको भने एउटा खास मान्यता छ– मुक्तक चतुष्पदीय नियममुताविक चारै पङ्क्तिको महत्वलाई ध्यानमा राखेर लेखिनुपर्छ, जस अन्तर्गत पहिलो पङ्क्तिले कुनै पनि भावलाई प्रस्तुत गरी उत्सुकता जगाउनुपर्छ । दोस्रो पङ्क्तिले उक्त भावलाई अझ गति प्रदान गराउनुपर्छ । यसरी नै तेस्रो पङ्क्तिले वैचारिक निष्कर्ष निकाल्नुपर्छ भने अन्तिम तथा चौथो पङ्क्तिले मुक्तककारको मान्यतालाई तार्किक अभिव्यक्तिका साथ प्रस्तुत गर्नुपर्छ ।
मुक्तककार अमर त्यागी यही नियमभित्र रहेर ४०० थान मुक्तकहरूको सिर्जना गरी ‘अमानव’ नामक सँगालो लिएर देखापरेका छन् । प्रस्तुत ‘अमानव’ मुक्तक सङ्ग्रह यही छोटा सिर्जनाकै निरन्तरता हो । निकै गहिरो भाव अभिव्यञ्जनाका साथ मुक्तकहरूलाई संयोजन गरिएको यस कृतिको विषयवस्तु पूर्ण रूपमा ‘मानव’सँग सम्बन्धित छ, जससँग समाज र देशका कुरा नै सबैभन्दा बढी मुखरित भएर आएका छन् । समाजमा देखिएका विकृति र विसङ्गतिप्रति उनी निकै सचेत छन् यहाँ । जानेर–नजानेर अर्थात् रहर होस् कि बाध्यतामा होस् मातृभूमिलाई छाडेर परदेसिएकाहरूको मनोभावलाई प्रस्ट रूपमा व्यङ्ग्य गर्छन्–
घरदेशको सम्झनाले कति पोल्छ मन
परदेशीलाई सोध्नू
आत्मीयताको चाहनाले कति पोल्छ मन
परदेशीलाई सोध्नू... ।
परदेशमा पक्कै सुख होला तर त्यहाँ मनको खुसी छैन । मुक्तककार प्रष्ट छन्– वैभवले मनको आनन्द दिन सक्दैन । विदेशको वैभवमा साँच्चो प्रेम छैन, बनावटी मायाले मान्छेलाई चलायमान बनाएको छ त्यहाँ । हुँदा हुँदा मान्छे स्वयं मेसिनझैँ भएको छ । प्रकृति बिर्सिएर कृत्रिमताको अङ्ग भएको छ ।
मानौँ सपना पनि अब मान्छेले चलचित्रझैँ देख्छ । तथापि यिनै व्याख्याबिचमै पनि मातृभूमिप्रतिको प्रेम मुक्तककारका पङ्क्ति–पङ्क्तिमा झल्किएको भेटिन्छन् ।
मान्छेको स्वरूपलाई विभिन्न आयामबाट हेरेका छन् सर्जकले । दुराचारमा रम्ने मान्छे, नेता बनेर छलको खेल खेल्ने मान्छे, शासक बनेर स्याल वा गिद्ध झैँ देशलाई लुछाचुँडी गर्ने मान्छे अथवा हत्या–बलात्कारका कुमार्गमा हिँडिरहने पनि मान्छे; कम्तीमा पनि दम्भ, दुष्टता, व्रmोध, ईष्र्याले जेलिरहेको छ मान्छेको मन–मस्तिष्क । उनी भन्छन्– कसैको मन सफा, तन कालो छ त कसैको तन सफा छ त मन कालो । साथी बनेर जो हातेमालो गर्छन् उहीसँग खल्तीमा छुरा छ; नैतिकता वा इमान भन्ने कुरो केही रहेन मान्छेसँग । विश्वास या भरोसा गर्न लायक नै को रह्यो र संसारमा ?
सर्जक त्यागी यति छोटो मुक्तकीय हरफहरूमै पनि जिन्दगीका विषयमा महìवपूर्ण तथ्य दिन सक्षम भएका देखिन्छन् । खास गरेर मान्छेको जीवनलाई विभिन्न आयाममा प्रस्ट्याउन पोख्त देखिन्छन् । उनी जिन्दगीलाई कहीँ समयको आकाशमा उड्ने चङ्गा मान्छन् भने त्यहीँनिर जिन्दगीलाई अनमेल भोगाइको दङ्गा भनिदिन्छन् । कतै यो ढलपल चोलालाई कर्कलाको पातमाथि पनि देख्छन् र काँडाहरूका बीचमा फुलेको फूलजस्तो जिन्दगीलाई कुनै अक्करे भीरभन्दा कम मान्दैनन् ।
खास गरेर मान्छेको चरित्रलाई यो सङ्ग्रहका मुक्तकहरूले उदाङ्गो पारिदिएका छन् । पाइला–पाइलामा मान्छेले खाएको धोखाघडीको मूल्याङ्कन गर्दै देवत्व भएको मान्छेभित्र असुरता पनि छ भन्ने सत्यतालाई प्रकट गर्छन् र सम्पूर्ण आफन्त वा रगतका नातालाई झुटो साबित गर्दै उनी मान्छेलाई विश्वासघातको पुलिन्दा मान्छन् । समग्रमा, मानव समुदायको प्रतिविम्ब जस्तो लाग्ने यो पुस्तकले पाठकहरूलाई आकर्षित गर्न सक्नेमा दुई मत छैन ।
कृति : अमानव
कृतिकार : अमर त्यागी
विधा : मुक्तक
प्रकाशक : बुक्सेलर, काठमाडौँ
संस्करण : प्रथम, २०७८
मूल्य : रु. १७५/–