• ९ साउन २०८१, बुधबार

२४ वर्षपछि छोरो घर फर्किँदाको खुसी

गलकोट,  असार ४ गते । बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आस मारिसक्नु भएको थियो । तर छोरा घर फर्केपछि उहाँले हर्षका आँसु झार्नुभयो । 

“मैले त कान्छो छोराको आस मारिसकेको थिए, विदेश गएको केही वर्ष त सम्पर्कमा थियो, त्यसपछि अत्तोपत्तो भएन”, आमा रेग्मीले भावविह्वल हुँदै भन्नुभयो, “छोरा २४ वर्षपछि घर फर्कँदा बुढेसकालको सहारा हुने भएको छ ।”

विसं २०५६ माघमा घर छोडेर जानुभएका चन्द्रदत्त रेग्मी घर फर्किनुभएको छ । रोजगारीका लागि बेलायत जानुभएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौँबाट उद्धार गरी ल्याइएको हो । 

बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आउन नसक्नुभएका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसीयाली छाएको छ । 

बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त बेलायतमा धन सम्पत्ति जोडेर नेपाल आउन चाहे पनि बेलायतमा स्थायी बसोबासका लागि अनुमति (पिआर) नपाएपछि उहाँ परिवारको सम्पर्कमा नआएका हुन् । 

चन्द्रदत्त घर फर्किएसँगै ८७ वर्षीया आमा चिरञ्जीवी रेग्मीको खुसीको सीमा रहेन । घरको कान्छो छोरा बुढेसकालको सहारा सम्पर्कमा आउँदा चिरञ्जीवीको आँखामा हर्षका आँसु बर्सिएका छन् । 

बेलायमा पिआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदत्त घर नफर्केर पुनः कामका लागि विभिन्न जिल्लामा भौँतारिनुभएको थियो ।

बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै रेग्मी नेपाल आएको भए पनि धन कमाउन नसकेको भन्दै विभिन्न जिल्लामा काम गरेर बसेको पाइएको र २४ वर्षपछि मात्रै सम्पर्कमा आउनुभएको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । 

“विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड बनेन कमाई पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै धेरै कमाएर घर लैजान्छु भन्ने सोचपछि काठमाडौँसँगै हेटौँडा, सल्यान, प्युठानलगायतका विभिन्न ठाउँमा काम गर्दै आउनुभएको रहेछ”, वडाध्यक्ष पौडेलले भन्नुभयो, “काठमाडौँ अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौँडाको थाहा नगरपालिका–१ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनलाई परिवारको सम्पर्कमा ल्याइएको हो ।”

चन्द्रदत्तका दाजु लेखनाथ शर्माले सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेललाई फोन सम्पर्क गरेका थिए । 

वडाध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सबै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौँबाट घरमा ल्याएका हुन् ।

“हाम्रो परिवारलाई भाइ जिउँदो छ भन्ने झिनो आशा मात्रै थियो तर अहिले घर फर्कँदा खुसी लागेको छ”, दाजु लेखनाथ शर्माले भन्नुभयो, “धेरै ठाउँमा भाइको विषयमा सोधखोज गरेका थियौँ, तर कुनै अत्तोपत्तो भएन, आशा नै मारेर बसेका थियौँ, आफूले बिदाइ गरेर विदेश पठाएको भाइ नफर्किँदा यही कुराले पिरोलेको थियो, भाइ फर्किएर आयो हाम्रो परिवारमा ठुलो खुसी छाएको छ ।” 

कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानुअगाडि लामो समय काठमाडौँमै कानुन व्यवसायीको फर्ममा काम गर्नुभएको थियो । परिवारमा चार भाइका कान्छा छोरा चन्द्रदत्त गाउँ फर्किएपछि गाउँलेहरूले नै खुसी साटेका छन् । रासस