काठमाडौं, असार ४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाढीपहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता महरले असार सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको र त्यसको पूर्व तयारीमा सरकार गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो ।
शनिबार यता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा एक जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका छन्। नेता महरले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस गठबन्धनको ठूलो दल भएकोले सरकारको सफलता र असफलतासँग कांग्रेसको पनि सफलता र असफलता जोडिनेब ताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ सरकारले पीडितको उद्धार तथा राहतमा तत्काल ध्यान देओस् । बाढीपहिरोले ताप्लेजुङमा पनि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको घटनाले सवैलाई दुःखी बनाएको छ । त्यसैले जनताको हितमा काम गर्न तदारुप्ता देखाउन म सरकारसँगै कांग्रेसका मन्त्रीहरूलाई पनि आग्रह गर्छुु । दैविक प्रकोपबाट हुने क्षति रोक्न कांग्रेसले केही गरिदेओस् भन्ने जनचाहना रहेको बताउँदै नेता महरले त्यसतर्फ कांग्रेस सचेत हुनुपर्दछ ।’’
दैविक विपत्ति कतिखेर आउँछ भन्ने थाहा नहुने भएकाले जनतालाई राहत प्रदान गर्नुका साथै उद्धारका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने उहाँले औंल्याउनुभयो। ठूलो धनजनको क्षति हुँदा पनि सरकारको राहत तथा उद्धार संयन्त्र समयमै पुग्न नसक्ने अवस्था देखिन नहुने उहाँको भनाइ छ।
‘‘अहिले त असार सुरुमात्रै भएको छ। पानी नै परेको छैन। सामान्य पानी पर्दा नै यत्रो विपत्ति आइसकेकाले यसबाट सरकारले पाठ सिकेर उच्च सतर्कता अपनाउनुपर्छ । महरले भन्नुभयो, ‘‘यसका साथै दैविक विपत्तिमा परेका परिवारलाई स्थानीय र प्रदेश सरकारले पनि उचित राहत प्रदान गर्नुपर्ने र काँग्रेस पार्टीको सम्पुर्ण तागत राहत उद्धार कार्यमा लगाउन समेत अनुरोध गर्दछु ।’’