• १९ वैशाख २०८१, बुधबार

रसुवा सुक्खा बन्दरगाह : पैंतालीस प्रतिशत निर्माण सम्पन्न

blog

रसुवा, असार ४ गते । रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को ४५ प्रतिशत काम पूरा भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको काम गरिरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ । 

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । कम्पनीका प्रबन्धक हवाङ पिङले बन्दरगाह निर्माणको काम नियमित रूपमा भइरहेको जानकारी दिनुभयो । 

सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । नदी किनारमा पर्खाल लगाउने काम सकिएकाले अन्य काम छिटो हुने बताउनुभयो । 

भन्सार पास हुन आएका सवारीसाधन महिनौँसम्म बन्दरगाहमा पार्किङ गरेर राख्दा निर्माण कार्यमा समस्या भएको उहाँको भनाइ छ । दुई अर्ब १६ करोड ६० लाख रुपियाँको लगानीमा बन्दरगाह निर्माण हुन लागेको हो । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उत्तरी नाका रसुवामा निर्माण हुन लागेको बन्दरगाहले आयात निर्यातलाई सहज बनाउने जानकारी दिनुभयो । “नेपाल–चीनबिचको महत्वपूर्ण रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,” उहाँले भन्नुभयो । रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भए पनि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उहाँको भनाइ छ । 

बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ । समितिका अनुसार बन्दरगाहमा एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षासमेतका निकाय रहने छन् । 

रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखपट्टनम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारतको हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायी नरेश कटुवालको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडाैँ आउने व्यवसायीको अनुमान छ । चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । 

आयात नियमित रूपमा भइरहे पनि कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएको रसुवा नाका गत पुसमा खुलेर नियमित रूपमा निर्यात हुन थालेको छ । हालसम्म नाकाबाट चीनमा ३७० कन्टेनर सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । हाल दैनिक १० देखि १५ वटा कन्टेनर सामान नेपालबाट चीन जाने गरेको कार्यालयको तथ्याङ्क छ । 

कार्यालयका चालु आवको जेठसम्म रसुवा नाकाबाट १६ अर्ब ३० करोड रुपियाँको सामान आयात भएकामा एक अर्ब ६२ करोड रुपियाँ बराबरको सामान निर्यात भएको छ । सामान आयात गरेर सात अर्ब २५ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।