• १५ वैशाख २०८१, शनिबार

पहिरोले पुरिएर बेपत्ता भएकाको खोजी कार्य तीव्र

blog

याम्फुदिनस्थित काबेली खोलामा आएको बाढीले क्षति पुर्याएको एक घर । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङमा शनिबार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । प्रहरीका अनुसार आइतबार बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी कार्य तीव्र पारिएको हो ।

निरन्तरको वर्षासँगै शनिबार राति गएको पहिरोले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका –६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चारजना बेपत्ता हुनुभएको छ । मेहेलेका स्थानीय यादव बुडाक्षेत्रीकी श्रीमती भगीमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुडाक्षेत्री र नाति प्रज्जवल बुडाक्षेत्री बेपत्ता हुनुभएको छ । 

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिरोले बगाएर बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेहरूको अहिले खोजी कार्य सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । प्रनाउ लिम्बूका अनुसार बेपत्ता हुनेहरूको खोजी गर्ने कार्यमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ । 

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेहरूको खोजी तथा अन्य जोखिममा परेकाहरूको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । यद्यपि मौसम प्रतिकुल भए पनि बेपत्ता हुनेको खोजी कार्य र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताउनुभयो । 

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङकोसहित तीन घर पहिरोले बगाएको छ । त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहनुभएका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटेल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढी पहिरोको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् ।

त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका –३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् । दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीन वटा घर उच्च जोखिममा परेको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बामा पनि केही घरहरू पहिरोको जोखिममा परेका स्थानीयले बताएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य चौकी भवन, विद्यालय, सडक, मोटरेवल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढी पहिरोले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रवारदेखि जिल्लामा बाढी पहिरो बग्न थालेको र बाढी पहिरोले जनधनको क्षति पुर्‍याउन थालेको छ । 

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आई नसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयो । उहाँ स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढी पहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।  

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।