• १३ मंसिर २०८१, बिहिबार

चक्लाबन्दीले बढ्दै सुन्तला खेती

blog

राधाकृष्ण डुम्रे 

वालिङ, असार ३ गते । स्याङ्जा जिल्लामा चक्लाबन्दी कार्यक्रम सुरु भएसँगै सुन्तला खेती गर्नेको सङ्ख्या बढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जामा सुन्तला सुपर जोन कार्यक्रम सञ्चालनमा छ। आर्थिक वर्ष २०७३/७४ बाट स्याङ्जामा सुन्तला सुपर जोन कायक्रम चल्दै आएको छ। यो कार्यक्रमले सुन्तला खेती गर्न चाहने किसानलाई सहयोग पुगेको छ। 

पछिल्लो समय समूहगत रूपमा सुन्तला खेती गर्नेको सङ्ख्या बढ्दो छ। पुतलीबजार, वालिङ र भिरकोटमा चक्लाबन्दी कार्यक्रममार्फत सुन्तला लगाउन किसानहरूलाई अभिप्रेरित गरेको छ। जसले किसानलाई राम्रो आम्दानीको स्रोत निरन्तर रहने देखिन्छ। जिल्लाका पुतलीबजार नगरपालिका– ११, वालिङ नगरपालिका– १३ र भिरकोट नगरपालिका–५ र ७ वडामा चक्लाबन्दीमार्फत सुन्तला खेती सुरु गराइएको छ। 

हरेक वर्ष सुन्तला खेती गर्ने किसान बढेको परियोजनाको तथ्याङ्कले देखाउँछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले एक हजार दुई सय हेक्टरबाट सुरु गरिएको सुन्तला खेती अहिले दुई हजार दुई सय हेक्टरमा पुगेको बताउनुभयो। 

अबको एक दशकपछि स्याङ्जाका भिरपाखा सुन्तलामय बन्ने उहाँको विश्वास छ। लम्सालले भन्नुभयो, “स्याङ्जाको आम्दानीको मुख्य स्रोत सुन्तला हुने छ, यहाँको माटो सुन्तला खेतीका लागि उपयुक्त पनि छ।”

बाँदरलगायतका जङ्गली जनावरले अन्नबाली नष्ट गरेपछि आजित बनेका स्याङ्जाका किसान सुन्तलाले केही राहत दिने आशमा छन्। यो वर्षबाट वालिङ–१३, पाखापानीका किसानले समूह बनाएर सुन्तला खेती सुरु गरेका छन्। कालीका सुन्तला समूह बनाएर २५ घरधुरीका किसानले सामूहिक रूपमा सुन्तलाका बिरुवा लगाएका छन्। 

समूहका अध्यक्ष भुपराज जिटीले झन्डै चार सय रोपनीमा चार हजार दुई सय सुन्तलाका बिरुवा लगाएर यो वर्षबाट सुन्तला खेतीतर्फ लागेको बताउनुभयो। बाँदर, दुम्सी र मृगले मकै, कोदो खेती उत्पादन गरेर खान नदिएपछि वैकल्पिक खेतीतर्फ आकर्षित भएको जिटीको भनाइ छ। अहिले लगाएका सुन्तलाले चार वर्षपछि आम्दानी दिने उहाँले बताउनुभयो। 

परियोजनाले किसानलाई सिँचाइका लागि ट्याङ्की, पाइप, हाते ट्याक्टर र बिरुवा अनुदानमा उपलब्ध गराएको समूहकी सदस्य चन्द्रकला जिटीले बताउनुभयो। 

अहिले यहाँका किसान मकै बारीमा सुन्तला लगाएका छन् भने अर्को वर्ष भिरपाखामा लगाउने तयारीमा छन्। भिरपाखाका जङ्गल फँडानी गरेर आगामी वर्षका लागि जमिन तयारी बनाउने अभियानमा रहेको समूहले जनाएको छ। 

वालिङ–१३ लाई सुन्तलालगायत फलफूल खेतीको आकर्षक केन्द्र बनाउने लक्ष्य रहेको वडाध्यक्ष नमलाल डुम्रेले बताउनुभयो। डुम्रेले भन्नुभयो, “वालिङ नगरपालिकाले एक वडा एक उत्पादन नीति ल्याउने तयारी गरिरहँदा वडालाई फलफूल उत्पादन केन्द्र बनाउने अभियानमा छौँ।” 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भैँसी जोन, फलफूल जोन, मसला जोन कार्यक्रम पनि समेट्दै आएको छ। किसानको आवश्यकता र मागका आधारमा परियोजनाले क्षेत्रगत रूपमा यी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। परियोजनाले सञ्चालन गरेको कार्यक्रममध्ये सबैभन्दा बढी आकर्षणको केन्द्र सुन्तला बनेको कार्यालयको भनाइ छ। स्याङ्जामा यो कार्यक्रम आएपछि सुन्तला खेती गर्ने किसानको सङ्ख्या हरेक वर्ष बढ्दै जान थालेको लम्सालको भनाइ छ।