ध्यान कुलुङ
सङ्खुवासभा, असार ३ गते । जिल्लाको हेँवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका -५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका -९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।
बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिनुभयो । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत सई टिकाराम राईले जानकारी दिनुभयो । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिनुभयो ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेवल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।