बर्दिबास समाचारदाता
बर्दिबास, असार ३ गते । हरिया तरकारी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिएको औरही नगरपालिकाले त्यहाँका किसानका लागि सिँचाइ सामग्री वितरण गरेको छ । नगरपालिकाले तीन सय थान सिँचाइ मोटर र २५० थान स्यालो ट्युबवेल वितरण गरेको हो ।
नगरपालिकाले शुक्रबारदेखि १, २, ७, ८ र ९ नम्बर वडाका किसानलाई २ एचपी क्षमताको मोटर तथा स्यालो ट्युबवेल वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा मोटर तथा सात हजार जडान खर्चसहित स्यालो ट्युबवेल सामग्री निःशुल्क उपलब्ध गराएको जनाएको छ । औरही नगर प्रमुख प्रदीप खड्काले मोटर र ट्युबवेल जडान भइसकेपछि ती वडाका छ सय किसान परिवारका एक हजार पाँच सय हेक्टर जग्गामा बाह्रै मास सिँचाइ सुविधा पुग्ने जनाउनुभयो ।
औरही नगरपालिकाकी कृषि शाखा प्रमुख कविता विष्टका अनुसार नगर क्षेत्रमा तीन हजार ३२६ हेक्टर कृषियोग्य भूमि छ । तिनमा पश्चिमको जङ्गाहा र पूर्वतर्फको रातु खोलाबाट प्राकृतिक सिँचाइको व्यवस्था छ ।
विगत केही वर्षदेखि नदीको जलस्रोत सुक्दै गएको छ । हिउँदपछि र वर्षापूर्वको गर्मी समयमा प्राकृतिक कुलोमा पानी नआउने हुँदा यहाँका अधिकांश जमिन बाँझै रहने र बाली लगाइएकामा पनि सिँचाइ अभावले उत्पादनमा ह्रास आउने समस्या देखिएको छ ।