काठमाडौं, असार २ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताको प्रतिरक्षा राजनीतिक दलले गर्नु नहुने बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेतालाई निर्दोष साबित गर्ने प्रयास गर्न नहुने बताउनुभएको हो।
नेतालाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
महामन्त्री शर्माले राजनीतिक दलले भ्रष्टाचारको आरोप लागेका नेतालाई प्रतिरक्षा नगरी स्वतन्त्र ढङ्गले सम्बन्धित निकायलाई छानबिन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्त्वपूर्ण कदम हुने पनि स्मरण गराउनुभयो।
उहाँले भन्नुभयो, ‘‘मेरो पार्टीको नेता चाहिँ निर्दोष हुनुहुन्छ, फसाउन पाइँदैन भनेर हामी कसैले भन्न पाउँदैनौँ। यो देशमा कानुन छ। यो देशमा संविधान छ। यो देशमा अख्तियार छ। यो देशमा अदालत छ। तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ।’’
महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्याउनु नहुने, प्रधानमन्त्री दुई पटक भन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गर्नुभयो।
महामन्त्री शर्माले भन्नुभयो, ‘‘एक पटक राष्ट्रपति भएपछि अब दोहोर्याएर नहुने प्रणालीमा जाऔँ। दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऔँ। चार पटक सांसद भएपछि बिदा लिने प्रणाली बनाऔँ। यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न सकिन्छ।’’