• १० मंसिर २०८१, सोमबार

समरको मज्जा

blog

बेलुकाको साढे ९ बजेसम्म घाम लाग्छ भन्दा कतिपयले पत्याउँदैनन् होला । त्यसमा पनि नेपालमा बस्नेलाई त यो कुरो पत्याउन गाह्रो पर्ला तर यो वास्तविकता हो । बेलायतमा अचेल बेलुकाको साढे ९ बजेसम्म घाम लागिरहेको हुन्छ । पङ्क्तिकारलाई पनि पहिले सुन्दा विश्वास गर्न गाह्रो भएकै हो । यहाँ उज्यालो भने नेपालमा जस्तै बिहान करिब ५ बजे भइसक्छ । गर्मीको समयमा बेलायतमा १६/१७ घण्टासम्म पारिलो घामको मज्जा लिन सकिन्छ । जाडो मुलुक भनेर कहलिएको बेलायतमा यसरी घाम लागेको बेला कोही रमाएर खेल्छन्, कोही घुम्छन्, कोही आफ्नो काम फुर्तिलो भएर गरिरहेका हुन्छन् । जाडोमा भने रुखबिरुवाका पात झरेर सुक्खा हाँगामात्र हावाको झाेँकामा हल्लिरहन्छन् । यही भएर गर्मीको समयलाई बेलायतमा पर्यटकका लागि मात्र होइन, त्यहाँ बस्ने सबै मानिसका लागि स्वर्णिम समय भनिन्छ । यो समयको सदुपयोग गर्दा पर्यटकका लागि भने अझ अविस्मरणीय क्षण हुन सक्छ । 

गर्मीको मौसममा मानिस मात्र होइन, प्रकृतिसमेत रमाएर हाँसिरहेको अनुभूति यहाँ सजिलै गर्न सकिन्छ । जताततै हरिया रुख, बिरुवामा ढकमक्क फुलेका फूलहरू हेरिरहुँ झैँ लाग्छ । जाडोयाममा सधैँ हिउँले ढाकेर सेताम्मे बनेका रुख, बिरुवा र चौर यति बेला हरिया भएर हाँसिरहेका छन् । प्रकृति नै रमाएपछि मानिस पनि प्रकृतिसँगै रमाउनु स्वाभाविक हो । कारण स्वाभाविक रूपले प्रकृति र मानिसको सम्बन्ध एकअर्कासँग गाँसिएकै हुन्छ । यो सम्बन्ध भनेको संसारभरि नै यस्तै हुने गर्छ, जसले मानिस र मुलुकलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ । 

चारैतर्फ समुद्रले घेरेको बेलायत विश्वमै पुरानो परम्परा र कलाको धनी देश हो । तेस्रो संसार भनेर कहलिएको अमेरिकावासी मात्र होइन, संसारभरका मानिस जीवनमा एक पटक बेलायत भ्रमणमा अवश्य घुम्न आउँछन् । यसको मुख्य कारण यहाँको प्राकृतिक विशेषता र नियममा चलेको मुलुक भनेर नै हो । जाडोको बेलामा घरमा, कार्यालयमा वा गाडीभित्र बाहेक जतिसुकै न्यानो लुगा लगाए पनि जाडोले थरथर कमाएर खुला आकाशमा निस्कनै नसकिने बेलायतमा गर्मीको मौसममा भने निकै रमाइलो हुन्छ । यही कारण यति खेर बेलायतमा धेरै पर्यटक घुम्न जान्छन् । यो पर्यटकीय मौसम भएकाले हवाई भाडा पनि महँगो हुने गर्छ । हवाई भाडा र होटल भाडा जति नै महँगो भए पनि बेलायत भ्रमणमा आउने उपयुक्त बेला भने यही नै हो । 

बेलायतमा जाडोयाम र गर्मीमा सोच्नै नसकिने भिन्नता पाइन्छ । जाडोमा ४ बजे नै घाम अस्ताउँछ । त्यसैले घुम्न त के काम गर्न पनि कठिन हुन्छ । जाडोमा त घामको दर्शन पाउन नै दुर्लभ हुन्छ । सधैँ सिमसिम पानी परिरहने र सिरेटो हावा लागिरहने भएकाले जति न्यानो लुगा लगाए पनि यहाँ खप्नै नसकिने जाडो हुन्छ । गर्मीमा भने घाम लागेको दिन काठमाडौँको मौसमसँग यहाँको मौसम मिल्दोजुल्दो हुन्छ । यसरी गर्मी मौसममा यहाँ सबै रमाएका हुन्छन् । घामको आनन्दको स्वाद लिइरहेका हुन्छन् । कार्यालयमा काम गर्नेहरू आनन्दले काम गरिरहेका हुन्छन् । पर्यटकहरू रमाएर घुमिरहेका हुन्छन् । बच्चाहरू आनन्दले स्कुल जाने र आउने तथा फुर्सदमा खेलिरहेका हुन्छन् । अनि ज्येष्ठ नागरिकहरू आफ्नै निवासमा वा फराकिलो पार्कमा घाम तापिरहेका हुन्छन् । स्वास्थ्यका लागि धेरै मानिस फुर्सद मिलाएर पार्क वा सडकमै दौडिरहेका हुन्छन् । 

जाडो होस् वा गर्मी, बेलायतको जनजीवन भनेकै नियमको पूर्ण पालनामा निर्भर छ । हरेक नागरिक नियमको पालनामा अभ्यस्त छन् । अर्को शब्दमा भन्नुपर्दा यहाँको जनजीवन भनेको मेसिनसरह हो । यही भएर यो मुलुक विकासको चरमचुलीमा पुगेको हो । यसो हुनुमा यहाँको हावापानीले गर्दा पनि हो । बेलायतको प्राकृतिक बनावटका कारण यहाँका मानिसहरू अरू देशको तुलनामा धेरै मेहनती छन् । जाडोमा काम गर्दा जिउ फुर्तिलो हुने र गर्मीमा पनि यहाँको हावापानीले सजिलै काम गर्न सकिने भएकाले यहाँका मानिसले यति धेरै मेहनत गर्न सकेका हुन् । यही कारण यो मुलुकले प्रगति र विकास गर्न सकेको हो । यहाँ काम गरेर फर्केपछि नेपालीहरू पनि जाँगरिला हुने गरेको पाइएको छ । 

बेलायत, वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्ड मिलेर युनाइटेड किङ्डम बनेको यो मुलुकमा बेलायत र वेल्सभन्दा उत्तरका नर्दन आयरल्यान्ड र स्कटल्यान्डमा धेरै जाडो हुन्छ । यी राज्यमा आआफ्नै कानुन लागु हुन्छ तर संयुक्त राष्ट्रसङ्घको मान्यतामा यो एउटै मुलुक हो । हरेक राज्यको शासन आफ्नै नियम, कानुन अनुसार चलेको हुन्छ ।  नेपालको पहाड र मधेशमा फरक भए झैँ बेलायतको उत्तर र दक्षिणको हावापानीमा भिन्नता पाइन्छ । गर्मीको बेला पनि उत्तरी क्षेत्रमा भने चिसोले जनजीवन त्यति सहज हुँदैन । जे भए पनि यी सबै राज्यमा जाडो र गर्मीमा धेरै भिन्नता हुने भएकाले जाडोमा भन्दा गर्मीमा यहाँको जनजीवन सहज हुन्छ । हावापानीकै कारण उत्तरी क्षेत्रको तुलनामा दक्षिणमा विकास पनि धेरै भएको छ, घरजग्गा पनि महँगा छन् । यसरी जुनसुकै देशको विकासलाई मौसमले धेरै असर गर्ने स्पष्ट हुन्छ । 

यहाँ बसेका नेपालीले पनि आफन्तलाई बेलायत घुम्न आउँदा जाडोमा होइन, गर्मीमा आउनु भन्नुको कारण पनि यही रहेछ । जाडोमा आउँदा धेरै कठिन र गर्मीमा आउँदा धेरै सहज तथा स्वादिलो हुने रहेछ । सम्भव भएसम्म जीवनमा एक पटक गर्मीमै बेलायत भ्रमण गर्न सबैलाई सुझाव पनि छ ।  

Author

बेनीबहादुर कार्की