• १३ मंसिर २०८१, बिहिबार

बोर्ड खारेजीको विरोध : दुध सडकमा पोख्ने चेतावनी

blog

तनहुँ समाचारदाता

तनहुँ, असार २ गते । तनहुँका दुग्ध उत्पादक कृषकले दुग्ध विकास बोर्ड खारेजीको विरोध गरेका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको नेतृत्वमा विरोध गरेका हुन् । किसानले बोर्डलाई खारेजी नगराई पुनस्र्थापित गर्न माग गरेका छन् । बोर्ड कृषक एवं दुग्ध उद्योगी, सहकारीहरूका लागि अपरिहार्य भएको हुँदा  बोर्डलाई खारेजी नगराई पुनस्र्थापित गर्न अनुरोध कृषकले गरेका हुन् ।  

सङ्घले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी बजेट तथा नीति कार्यक्रममा बोर्ड खारेजीको प्रस्तावप्रति आपत्ति जनाउँदै खारेजीको निर्णय फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुग्ध क्षेत्रलाई नै धराशायी बनाउन गरिएको निर्णयप्रति यस सङ्घ गम्भीर घोर आपत्ति जनाउँदछ, विज्ञप्तिमा भनिएको छ । 

बोर्डभित्र  सरकार, सहकारी, कृषक, उद्योग र उपभोक्तासमेतको बोर्डमासमेत सहभागी भई कृषकको उन्नति र उत्पादन वृद्धिलगायत दुग्ध क्षेत्रको विकास वृद्धिमा छलफल गर्ने निकाय अन्तर्राष्ट्रियस्तरमा समेत बोर्डले प्रभावकारी काम गरिरहेको अवस्थामा नेपालमा भने  विकास बोर्ड विघटनले यस देशमा रहेका दुग्ध क्षेत्रका कृषक सहकारी, उद्योगी सङ्घ संस्थाबीच मर्माहत भएको कृषकले बताएका थिए ।  

दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवरले बोर्ड नभए दुध तथा दुग्धजन्य वस्तुको बिक्रीमा समस्या भई सडकमा दुध पोख्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । विशेष गरी दुर्गम क्षेत्रका दुध उत्पादन गर्ने कृषकको दुध ढुवानीमा समस्या आई बिक्री नहुने बताउनुभयो । 

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष बोधराज अधिकारीले दुग्ध क्षेत्रको एक मात्र अभिभावक निकाय यस विकास बोर्डले दुग्ध क्षेत्रलाई प्रवर्धन गर्न र कृषकहरू उद्योगीहरू र उपभोक्ताहरूको हकहितका लागि सदैव उल्लेख्य भूमिका निर्वाह गरेकाले खारेजी गर्न नहुने बताउनुभयो । 

नेपालमा १८७२ वटा दुग्ध उत्पादक सहकारी संस्था छन् । औपचारिक क्षेत्रमा छ लाख परिवारले दैनिक १२ लाख लिटर दुध उत्पादन गरी दैनिक छ करोडको हाराहारीमा सहरको पुँजी गाउँ पु-याउँदै गरिब विपन्न किसानको आयआर्जनमा टेवा पु-याउने काम गर्दै आइरहकाले बोर्ड आवश्यक रहेको धारणा राखेका छन् । 

नेपाललाई दुधमा आत्मनिर्भर गराउने कार्यमा बोर्डले महत्वपूर्ण योगदान दिँदै आएको अवस्थामा नेपाल सरकारको नीति तथा कार्यक्रममा बोर्ड विघटनले यस देशमा रहेका दुग्ध उत्पादन क्षेत्रका कृषक, सहकारी, उद्योगी सङ्घ संस्थाहरू मर्माहित भएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।