• ११ मंसिर २०८१, मङ्गलबार

कोरियामा ‘नीरफूल’

blog

काठमाडौँ, असार २ गते । मुलुकभर प्रदर्शन भइरहेको चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाका विभिन्न सहरमा प्रदर्शन गर्ने गरी धनजित वाइबाको समूहले प्रदर्शन अधिकार किनेको हो। बिहीबार दुवै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिनुभयो। 

भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देशमा प्रदर्शन गर्ने योजनासमेत बनिरहेको वलले बताए। पारिवारिक कथासँगै राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गत शुक्रबार प्रदर्शन भएको थियो। दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबालगायतको चलचित्रमा अभिनय रहेको छ। प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ।