अमरराज नहर्की
तनहुँ, असार १ गते । तनहुँको एक पालिकाका कर्मचारीले आफ्नो तलबको रकमबाट अस्पतालको लागि उपकरण खरिद गर्न सहयोग गर्ने निर्णय गरेका छन् । आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीको पारिश्रमिकबाट आबुँखैरेनी अस्पतालको लागि थाइराइड परीक्षण मेसिन खरिद गर्न लागिएको हो ।
पालिकाका कर्मचारीहरूको बैठकले आफ्नो मासिक तलबमा केही प्रतिशत रकम कट्टा गरी उक्त मेसिन खरिद गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, "पालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीहरूको तह अनुसार न्यूनतम १० देखि ५० प्रतिशतसम्म तलब कट्टा १० लाख रुपियाँ सहयोग गर्ने हालै निर्णय भएको छ ।"
आबुँखैरेनी गाउँपालिकामा गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सबै क्षेत्रमा गरी हाल करिब एक सय ३५ जना करार र दरबन्दीका कर्मचारी कार्यरत छन् । गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा परीक्षण गर्ने मेसिन नहुँदा टाढा धाउनु पर्ने र विपन्न नागरिकलाई उपचार गर्न कठिन भएकोले सहयोग गरेका हुन् ।
कर्मचारीहरूले आफ्नै पारिश्रमिकबाट अस्पतालको लागि थाइराइड मेसिन खरिद गरी सहयोग गर्ने निर्णय गरेपछि गाउँपालिका अध्यक्ष शुक्र चुमानले सबै कर्मचारीलाई धन्यवाद दिनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, "कर्मचारीको निर्णयले उदाहरणीय छ जनप्रतिनिधिलाई समेत प्रेरणा मिलेको छ ।"
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले चालु आर्थिक वर्षदेखि नै बैठक भत्ता समेत लिनु भएको छैन । सो बैठक भत्ता पालिकाले सामुदायिक विद्यालयमा निजी स्रोतमा राखेको शिक्षकलाई पारिश्रमिक दिने गर्नुभएको छ । शर्माले भन्नुभयो, "कर्मचारीले कार्यालय कामको अतिरिक्त सामाजिक कार्यमा ध्यान दिनु पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि बैठक भत्ता नलिने निर्णय गरेको हुँ ।"