• १२ मंसिर २०८१, बुधबार

‘विश्वविद्यालय स्थापनाको माग पूरा गराउन प्रतिबद्ध छौँ’

blog

सदनमा प्रदेश सरकारको धारणा राख्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, जेठ २९ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग पूरा गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।  

विश्वविद्यालय स्थापनाको माग गर्दै सडक र प्रदेश सदनमा सङ्घर्ष भइरहँदा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै प्रदेशवासीको माग, चाहना र आवश्यकता पूरा गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । विश्वविद्यालय स्थापना र विकास कार्यमा शीघ्रताका लागि नेपाल सरकारसँग विशेष अनुरोध भइरहेको मुख्यमन्त्री शाहले बताउनुभयो । 

सोमबार प्रदेश सभा बैठकमा बोल्नुहुँदै उहाँले गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिङ्गो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रूपमा विकास हुनुपर्छ भन्ने चाहना सबैको रहेको चर्चा गर्नुभयो । सबैको चाहना बमोजिम नै नेपाल सरकारले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ । 

नेपाल सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा विश्वविद्यालय विधेयक चालु अधिवेशनमा नै प्रस्तुत गर्ने भनी उल्लेख गरे पनि वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भएर आउँदा सुदूरपश्चिमवासी आन्दोलित भएका छन् ।