गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २९ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी रहेको तर गठबन्धन घटकबीच केही विषयमा विमति हुनु स्वाभाविक रहेको उहाँले बताउनुभयो । अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेकाले सत्ता गठबन्धनबीच विश्वास र एकता आवश्यक रहेको उहाँको भनाइ छ ।
अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गर्दै उहाँले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरूको नरहेको बताउनुभयो । आफ्नो महत्त्व र भूमिकालाई अस्वीकार गर्नेहरूलाई चुनौतीको सामना गर्नुपर्ने उहाँले बताउनुभयो ।