गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २९ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा बलियो राष्ट्रिय राजनीतिक शक्तिको खाँचो भए पनि त्यो निर्माण हुन नदिने चलखेल जारी रहेको बताउनुभएको छ । राजनीतिक अस्थिरता बनाएर चलखेल गर्न रुचाउने शक्तिहरू त्यसमा लागेको उहाँको भनाइ छ ।
सोमबार राजधानीमा आयोजित वर्तमान राष्ट्रिय राजनीतिका ज्वलन्त सवाल विषय अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले देशमा राजनीतिक अस्थिरता सिर्जना गर्न कहिले सांस्कृतिक अतिवाद प्रवर्धन गर्ने त कहिले पपुलारिजमको नाममा विभिन्न अवरोध सिर्जना गर्ने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बलियो शक्ति निर्माण हुन नदिन अस्थिरता सिर्जना गर्ने प्रयासहरू जारी छन्, एकजना भारतीय विज्ञले संविधानसभाको समयमा कूटनीतिक क्षेत्रको एउटा नीति अवलम्बन गरिएको थियो भनेर आफ्नो किताबमा लेखेको सन्दर्भलाई हामीले सम्झना गर्नुपर्ने हुन्छ ।’ नियन्त्रित अस्थिरता नेपालसम्बन्धी हाम्रो साझा नीति थियो भनेर उनले उल्लेख गरेको महासचिव पोखरेलले चर्चा गर्नुभयो ।
राष्ट्रिय समस्या समाधान गर्न मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उहाँले बताउनुभयो । यसैगरी, उहाँले नयाँ र पुरानो राजनीतिक दलको भाष्य स्थापित गरेर भ्रम छर्न खोजिएको धारणा पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेसँग नीतिमा, उद्देश्य, गन्तव्यमा, लक्ष्यमा प्रतिस्पर्धा गर्नका निम्ति नयाँ राजनीतिक दललाई हामी आव्हान गर्दछौँ । जनताको भावनामा खेलेर विकल्प खडा गर्ने प्रयास भनेको चाहिँ समयको बरबादी मात्र हो ।” पपुलर पोलिटिक्स कहिल्यै पनि समाजका समस्याको सम्बोधन गर्न नसक्ने उहाँको भनाइ छ ।
नेकपा एकीकरणको सन्दर्भमा लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी भएकाले एमालेले उदार नीति अवलम्बन गरेको उहाँले स्मरण गर्नुभयो । विभाजित कम्युनिष्ट पार्टी, वामपन्थी पार्टीलाई एकताबद्ध बनाउन आवश्यक भए पनि केही नेताको स्वार्थका कारण समस्या उत्पन्न भइरहेको उहाँको भनाइ छ ।