• १९ असार २०८१, बुधबार

एमालेद्वारा प्रदेश सभा बैठक बहिस्कार

blog

बैठक बहिस्कार गर्दै एमालेका प्रदेश सभा सदस्यहरु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो ।

साथै, एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित विगत केही दिनदेखि भइरहेको आन्दोलनप्रति समेत सरकारको धारणा माग गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिस्कार गरेपछि प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । 

यसअघि, हिजो प्रतिपक्षी दल राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्टले पनि प्रदेश सभा बैठक बहिस्कार गर्नुभएको थियो । सङ्घीय सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर आगामी आर्थिक वर्षको बजेट भाषणमा एक सय शय्याको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने बताएपछि एमाले विरोधमा उत्रेको जनाएको छ ।

पूर्व निर्णयअनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनु पर्ने मागसहित यहाँ विभिन्न पक्षबाट आन्दोलन भइरहेको छ ।