• १३ असोज २०८१, आइतबार

बजेट तीन जिल्ला केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ

blog

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २९ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल १२३ अर्ब रुपियाँ विनियोजन रहेकोमा तीन जिल्लामा छुट्टाएको रकम ठुलो परिमाणमा नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।

आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको उहाँले स्पष्ट पार्नुभयो ।

यसैगरी, मधेश प्रदेशमा बजेट विनियोजन कम नगरिएको अर्थमन्त्री महतले बताउनुभएको छ । मधेश प्रदेशमा कम रकम विनियोजन गरिएको विषयमा संसदमा जवाफ दिनुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘‘पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगन्ज कोरिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग तथा सुनकोशी मरिन, बागमती, कमला, चन्द्र नहर लगायतका सिँचाइ आयोजना लगायत मधेश प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठुला आयोजनाहरूमा उल्लेख्य रकम विनियोजन भएको छ ।’’

त्यस्तै, तराई मदेशलाई काठमाडौँसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको छ । विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू मधेश प्रदेशमा सञ्चालित छन् । सहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेश प्रदेशमा विनियोजन भएको छ ।

मधेश प्रदेशमा ठुलो जनसङ्ख्या भएकाले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि बजेटको ठुलो हिस्सा विनियोजन हुने गरेको छ । प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कूल वित्तीय हस्तान्तरणको करिब १५ प्रतिशत मधेश प्रदेशमा गएको छ ।