• २३ पुस २०८१, मङ्गलबार

स्थानीयसँग विकासका योजना माग्दै वडा कार्यालय

blog

सुजन काफ्ले

चरीकोट, जेठ २८ गते । दोलखाको मेलुङ गाउँपालिका–७ ले आर्थिक वर्ष ०७९-८० को समीक्षा तथा ०८०-८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा कार्यालयमा स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सोही वडाका वडा अध्यक्ष नवराज खड्काले एक वर्षमा वडामा भएका विकासका कामहरूको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा उपस्थित भएका स्थानीयहरूले पहिलो पटक वडाबाट भएका विकासको कामको जानकारी पाउँदा खुसी लागेको बताएका छन् । 

वडाले यसरी योजना तर्जुमा राख्दा आफ्नो गाउँ टोलको समस्या सुनाउन र विकासका योजना माग्न पाउँदा खुसी लागेको स्थानीय मोहन भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो गाउँबाट टिपोट गरेर ल्याएका समस्या र मागहरू जनप्रतिनिधिलाई पेस गर्न पाउँदा खुसी लागेको छ ।”

शिक्षकहरूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । कार्यक्रममा उपस्थित भएका अधिकांश स्थानीयहरूले गाउँपालिकाले गरेको विकासमा कुनै समस्या नभएको तर प्रदेश सरकारले विनियोजन गरेको बजेटको चरम दुरुपयोग भएको बताएका छन् ।

कार्यक्रममा बोल्नुहुँदै मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले स्थानीय सरकार यस्तो सरकार हो जुन सरकारलाई स्थानीयहरूले सजिलै भेट्न र आफ्नो समस्या राख्न पाइने सरकार भएको बताउनुभयो । निर्वाचन अगाडि जुन पार्टीको चिन्ह लिएर निर्वाचनमा हिँडेपनि निर्वाचित भएपछि पार्टीभन्दा माथि रहेर विकास निर्माणको काममा लाग्नुपर्ने उहाँले बताउनुभयो । 

विगतका तुलनामा चालु एक वर्षभित्र मेलुङ गाउँपालिकामा विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढेको बताउँदै अध्यक्ष तामाङले विकास गर्ने काम गाउँपालिकाको भएको र त्यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीयहरूको नै भएको बताउनुभयो । युवा लक्षित कार्यक्रम गर्न खोजिए पनि गाउँमा युवाहरू दिनप्रतिदिन घट्दै गएको बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले पाँच वर्षभित्र मेलुङ गाउँपालिकाले जनताको माग अनुसार विकास गर्ने बताउनुभयो । कहिलेकाहीँ काम गर्दै जाँदा केही कमजोरी हुने बताउँदै आचार्यले आगामी दिनमा कमजोरीलाई सुधार्दै विकासका कामलाई तीव्रता दिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य रवीन्द्र कार्कीले विकास निर्माणको कुरा भनेको बोल्दैमा हुने कुरा होइन त्याग र तपस्याले मात्र हुने कुरा रहेको बताउनुभयो । अहिले व्यवस्थाको कमजोरी नभएको तर देशमा यस्तो अवस्था ल्याउनेहरूको कमजोरी भएको उहाँले बताउनुभयो । वडावडा टोलटोल पुगेर आवश्यकता हेरेर योजना छुटाउनुपर्ने कार्कीले बताउनुभयो ।

कार्यक्रम उठेका प्रश्नमा जवाफ दिँदै कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष नवराज खड्काले दिनुभएको थियो । कार्यक्रम विभिन्न राजनीति दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी लगायत स्थानीयहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।