गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २७ गते । गोरखापत्र संस्थान कर्मचारी सङ्घ–२०५२ को आठौं अधिवेशनमा बोल्ने वक्ताहरूले गोरखापत्रका समाचार विश्वसनीय भएकाले सरकारले प्रकाशन गर्ने सबै सूचनामा गोरखापत्र पहुँच हुनुुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले गोरखापत्रका समाचार अझै खोजमूलक, अनुसन्धानमूलक र स्तरीय बनाउन पनि सुझाव दिनुभएको छ । सङ्घको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले यस्तो भनाइ राख्नु भएको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगन्द्र कुँवरले भन्नुभयो, ‘‘गोरखापत्रको आर्थिक अवस्था सबल छ भन्ने सुन्दा खुसी लाग्यो, गोरखापत्रका समाचार अझ खोजमूलक, अनुसन्धानमूलक र स्तरीय बनाउनुपर्छ, मन्त्रीका तस्बिर मात्रै टाँसेर मात्रै अब हुँदैन र सरकारी सबै सूचनामा गोरखापत्रको पहुँच बढाउनुपर्छ ।’’
अध्यक्ष कुँवरले गोरखापत्र र यसका प्रकाशनको उत्पादन गुणस्तरीय भए मात्रै पत्रकार तथा कर्मचारीका लागि प्रोत्साहनको सम्भावना बढ्ने हुँदा ट्रेड युनियन र व्यवस्थापन मिलेर अगाडि बढ्नुको विकल्प छैन भन्नुभयो ।
चार वर्षका लागि आउने व्यवस्थापकले आफ्नो कार्यकालको अवधि सोच्छ तर ट्रेड युनियनका पदाधिकारीले संस्थानको दिगो हितका लागि सदैव सोच्नुपर्छ भन्दै अध्यक्ष कुँवरले प्रकाशनको गुणस्तर बढाए मात्रै व्यवस्थापनसँग सौदाबाजी गर्न सम्भव हुने विचार व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले हाम्रा अनुहार भनेका गोरखापत्र र अन्य प्रकाशन नै हुन तीनमा कस्ता सामाग्री पस्किएका छन् भन्ने कुराले महत्त्व राख्छ भन्दै सम्पादकीय स्वतन्त्रता र मूल्यलाई सदैव सम्मान गरेको बताउनु भयो ।
गोरखापत्र संस्थानमा व्यवस्थापकको आलोचना गरेकै कारण कुनै कर्मचारीको सरुवा र कारबाही गरिएको छैन, सौहार्ध्द वातावरण सिर्जना गरेर काम गरिएको चर्चा गर्दै अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘युनियनहरूसँग सहकार्य गरेर नै हामीले हार्दिक वातावरण बनाएका छौँ, कतिलाई न्याय गरियो, त्यो तपाईहरूले मूल्याङ्कन गर्ने हो तर कसैलाई अन्याय गरिएको छैन ।’’
यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले साढे तीन वर्ष अगाडि संस्थान ऋणमा थियो तर अहिले त्यो अवस्था छैन, अबको पाँच–सात वर्षको अवधिमा सेवा निवृत्त हुने कर्मचारीले ढुक्क साथ आफ्नो उपदान लिएर जान सक्ने सबल आर्थिक अवस्था सिर्जना भएको छ भन्नुभयो ।
महाप्रबन्धक ऐरीले भन्नुभयो,‘‘संस्थानको आर्थिक अवस्था सबल भएकाले नै गोरखापत्रको १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवमा सबै पत्रकार तथा कर्मचारीलाई १५ दिन बराबराको तलब प्रोत्साहनबापत उपलब्ध गराइएको छ । संस्थानमा रचनात्मक सहकार्य गर्न सबै सङ्घ सङ्गठनसँग हामी तयार छौं ।’’
सार्वजनिक सेवा कर्मचारी सङ्घ राष्ट्रिय समितिका अध्यक्ष राजेन्द्रप्रसाद दाहालले भन्नुभयो, ‘‘ठुलो तागतका कुरा गर्ने निजी क्षेत्रका छापा माध्यमका पत्रकार र कर्मचारीले न्यूनतम तलबसमेत पाएको अवस्था छैन, तर संस्थान आर्थिकरूपमा सबल छ तर गोरखापत्रलाई प्रधानमन्त्री र मन्त्रीको तस्बिर टास्ने अखबार मात्रै नबनाउनुहोस, यसको साख र गरिमालाई अझ बढाउनुहोस ।’’
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले लोकतन्त्र सबल हुँदा मात्रै प्रेस स्वतन्त्रता, विकास र समृद्धि सम्भव हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘गोरखापत्रको आर्थिक अवस्था सबल छ, पत्रकारहरूले हेपिएको, अन्याय भएको अनुभूति गर्न नपरोस् र सम्मानका साथ काम गर्ने वातावरण बनोस ।’’
गोरखापत्र संस्थान कर्मचारी सङ्घ–२०५२ का अध्यक्ष सचु सेनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष बिक्रमबाबु राई, गोरखापत्र संस्थान कर्मचारी सङ्गठन–६३ अध्यक्ष विष्णुप्रसाद खनाल, सङ्घका वरिष्ठ उपाध्यक्ष धर्मराज न्यौपाने, महासचिव राजकुमार गुरुङलगायतले गोरखापत्र संस्थानको विकास र कार्यरत कर्मचारी हितका लागि सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थान सञ्चालक समितिका सदस्य तथा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर चौधरीसहित विभिन्न प्रकाशन प्रमुख तथा विभागीय प्रमुखलगायतको सहभागिता छ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।