• २१ असार २०८१, शुक्रबार

जलाधार संरक्षण गर्न गुल्मीमा ३८ वटा पोखरी निर्माण

blog

डिभिजन वन कार्यालय गुल्मीले सत्यवतीमा निर्माण गरेको सुक्खा पोखरी । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, जेठ २८ गते । जलाधार संरक्षण र वन्यजन्तुका लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको हो । 

कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थिक वर्ष २०७७।७८ मा तीन वटा, आर्थिक वर्ष २०७८।७९ मा संरक्षित वनअन्तर्गत १० वटा, पीडितसँग प्रदेश सरकार कार्यक्रमअन्तर्गत पाँच र वन्य जन्तुका लागि पोखरी निर्माण कार्यक्रम अन्तर्गत पाँच गरी २० वटा पोखरी निर्माण गरिएको हो ।

चालु आर्थिक वर्षमा एक वडा एक पोखरी अभियान कार्यक्रम अन्तर्गत रुरुक्षेत्र, सत्यवती र रेसुङ्गा नगरपालिकाको भाडगाउँमा गरी ६ वटा पोखरी निर्माणको चरणमा रहेका छन् ।

यस्तै, वन संरक्षण क्षेत्र विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा संरक्षित वनभित्र तीन वटा, मदाने संरक्षित वनमा दुई र थाप्ले सत्यवती सालिमेदह वन अन्तर्गत चार वटा पोखरी निर्माण भएको शर्माले बताउनुभयो । सुक्खा पोखरी निर्माण गर्दा जलाधार संरक्षण, वन्यजन्तुहरूका लागि सौन्दर्यताका लागि र पानीका मुहानहरू नसुक्ने भएकाले यसरी पोखरी निर्माण गर्ने गरेको उहाँको भनाइ छ । 

पालिकाका आठ पोखरी 

यता जिल्लाको कालीगण्डकी गाउँपालिका गुल्मीले एक गाउँ एक पोखरी निर्माणको अभियान चलाएको छ । पानीका मुहानहरू सुक्दै जाने र पशुपन्छीहरूका लागि सहज रूपमा पानीको व्यवस्था गर्नका लागि यसरी अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख वेदबहादुर थापाले जानकारी दिनुभयो । समुदायमा रहेका स्थानीय सामुदायिक वनका समितिहरूसँग सहकार्य गरी गत वर्ष आठ वटा सुक्खा पोखरीहरू निर्माण गरेको  थापाले दाबी गर्नुभयो । 

एउटा पोखरी निर्माण गर्नका लागि करिब चार लाख रुपियाँ लाग्ने र सो रकम अनुदान स्वरूप सामुदायिक वनको बैङ्क खातामा सिधै भुक्तानी गर्ने प्रबन्ध मिलाएको गाउँपालिकाले दाबी गरेको छ । 

पछिल्लो समयमा ग्रामीण स्तरमा पानीका मुहानहरू सुक्दै जान थालेको तथा वन जङ्गलमा रहेका पन्छीहरूका लागि पिउने पानीको पनि व्यवस्था हुने र जलाधार संरक्षणका लागि पोखरी निर्माण कार्यमा गाउँपालिका लागेको थापाले दाबी गर्नुभयो । यस्तै बाटो निर्माण गर्दा वन जङ्गल नमासिने गरी  वन्यजन्तुहरूको वासस्थानमा खलल नपुग्ने गरी पानीका मुहानहरूलाई संरक्षण गर्ने गरी बाटो निर्माण गरिने पनि पालिकाले दाबी गरेको हो ।