भारत सरकारले नयाँ निर्मित संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । यसमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कूटनीतिक चातुर्यतासहित ऊर्जालगायतका क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको चर्चासँगै उहाँको भारत भ्रमणको बेलामा यस्तो नक्सा राखिनुले दुई देशबिचका दौत्य सम्बन्धका विविध आयामबारे ऐतिहासिकता र प्रामाणिक तथ्य सार्वजनिक भएका छन् ।
भारत सरकारले राखेको सो नक्सा कुनै पनि हिसाबले प्रामाणिक भौगोलिक तथ्यमा आधारित छैन । या मनोगत तथा कपोलकल्पित अखण्ड भारतको नक्सा हो । यो बौद्ध, वैदिक, पुराण जस्तो पौराणिक कालमा समेत कतै उल्लेख छैनन् । पौराणिक समयमा नेपाललगायत छिमेकी देश भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, म्यान्मार र श्रीलङ्का छुट्टै नामले परिचित थिए । यो सांस्कृतिक वा धार्मिक सर्किट जनाउने नक्सा हो भने पनि प्रमाणसहित भारत सरकारले विस्तृत अध्ययन गर्न जरुरी छ ।
दक्षिण एसियाको प्राचीन नाम ‘जम्बुद्वीप’
‘भारत’ शब्द ‘महाभारत’ महाकाव्यमा उल्लेख भएको पाइन्छ तर त्योभन्दा पौराणिक बुद्धकालमा भारत शब्द उच्चारण भएको पाइँदैन । इसापूर्व ६०० बुद्धकालमा हालको भारतलगायत पाकिस्तान (गान्धार), बङ्गलादेश (वङ्ग देश), अफगानिस्तान (कम्बोज), म्यान्मार (मरम्मरट्ठ), श्रीलङ्का (तम्बपन्नि), थाइल्यान्ड (सुवन्नभूमि) सहितको सम्पूर्ण दक्षिण एसियाको भूभाग ‘जम्बुद्वीप’ नामले कहलिन्थ्यो ।
बुद्धकालीन जम्बुद्वीपमा विभिन्न प्रमुख राज्यहरू ‘महाजनपद’ नामले चिनिन्थ्यो । तत्कालीन प्रमुख प्रदेश राज्यहरू ‘सोह्र जनपद’ नामले प्रसिद्ध थिए । ती जनपदभित्र नेपाल नरहेको र छुट्टै देशका रूपमा अस्तित्वमा रहेको तत्कालीन भौगोलिक नक्साबाट देखिन्छ । ती सोह्र महाजनपदमा काशी, कोशल, अङ्ग, चेदी, कुरु, पान्चाल, मत्स्य, सुरसेन, अस्मक, अवन्ती, गान्धार, कम्बोज, वज्जी, मल्ल, मगध रहेका छन् ।
यो नक्सा अनुसार नेपाल अलग देश देखिन्छ । कपिलवस्तु पनि नेपालभित्र देखिन्छ; जुन नक्सा भारतीय नक्साविद्ले नै तयार पारेको देखिन्छ । तलको चार दिशा सीमा क्षेत्रमा उत्तरतिर ‘नेपाल’ भनी स्पष्ट देखाएको छ । बुद्धकालीन कोशल राज्यको उत्तर दिशामा नेपाल विद्यमान रहेको सुस्पष्ट छ ।
बुद्धकालमै अस्तित्वमा नेपाल
नेपाललाई बुद्धकालीन पाली भाषामा ‘हिमवन्त प्रदेश’, संस्कृतमा हिमालय प्रदेश-हिमवत्खण्ड) नामले चिनिथ्यो । हालको नेपालमण्डल (काठमाडौँ उपत्यका) ‘नेपाल’ नामले चिनिन्थ्यो । योबारे इतिहासकार लङम्यानले आफ्नो ग्रन्थ ‘नेपाल’ मा स्पष्ट उल्लेख गरेको पाइन्छ । बुद्धकै पालामा नेपालको अस्तित्वबारे उल्लेख छ ।
बुद्धको शिष्य भिक्षु आनन्द कपिलवस्तुबाट काठमाडौँ उपत्यकामा आएर बसोबास गरेका आफ्ना इष्टमित्रको हालखबर बुझ्न सातौँ किराँती राजा जितेदास्तीको शासनकालमा यहाँ आउनुभएकोबारे वर्णन छ । सम्राट् अशोकको शासनकालमा बुद्ध धर्ममा दीक्षित भएपछि आफ्नो १८ औँ शासनकालमा विश्वभर बुद्ध धर्म फैलाउने व्रmममा नौ वटा देश देशान्तरमा बौद्ध भिक्षु मिसनरीका रूपमा पठाएका थिए । तीमध्ये भिक्षु मज्झिम थेरको नेतृत्वमा तत्कालीन हिमवन्त प्रदेश (हिमालय प्रदेश) नेपालमा पनि धर्म प्रचार गरेकोबारे अशोकको जीवनी र अशोकद्वारा कुँदिएका विभिन्न ठुलासाना शिलालिपिहरूमा उल्लेख छ ।
अशोक, आफ्नो शासनकालको २० औँ वर्षमा नेपालको लुम्बिनीमा आफ्नो गुरु उपगुप्त महथेरसँग भ्रमण गरेको र उक्त स्मरणमा लुम्बिनीमा अशोक स्तम्भ खडा गरी “शाक्यमुनी बुद्ध भगवान् यही लुम्बिनी ग्राममा जन्मनुभएको (हिद बुधे जाते सक्यमुनी, हिद भगवं जाते लुम्मिनी गामे)” भनी स्पष्ट किटानका ब्राह्मी लिपिमा कुँदिएको जीवन्त प्रमाण छ ।
अशोकको यो ऐतिहासिक लिखित घोषणाबाट नेपाल बुद्धको जन्मभूमिसम्बन्धी उठेका सम्पूर्ण भ्रम, शङ्का, वादविवाद अन्त्य भएको छ; जुन नेपाल र नेपालीका लागि अत्यन्त सुखद र गौरवको विषय हो ।
अशोककालीन जम्बुद्वीप
जम्बुद्वीप, बुद्धकालमा मात्र नभई बुद्धको करिब २५० वर्षपछि सम्राट् अशोकको पालामा समेत प्रचलित थियो । यसको प्रमाण श्रीलङ्काको आधिकारिक तथा प्रामाणिक इतिहास ग्रन्थ महावंशमा उल्लेख छ । सम्राट् अशोकको आफ्नै छोरा महेन्द्र महास्थवीर श्रीलङ्कामा बुद्ध धर्म प्रचारार्थ अन्य चार जना भिक्षु र एक जना उपासकसँग श्रीलङ्काको मिस्सक पर्वत (वर्तमान मिहिन्तले) मा अवतरण हुँदा जङ्गलमा सिकारका लागि आएका श्रीलङ्काको ‘देवानाम पिय तिस्स’ नामका राजाले देखेपछि आश्चर्यचकित भएर ती भिक्षुहरू देखेर तपाईंहरूको हुनुहुन्छ ? कहाँबाट आउनुभएको..? भनी प्रश्न गर्दा जवाफमा भिक्षु महेन्द्र महास्थवीरले यसरी पालीगाथामा जवाफ दिनुभएको थियो,
समना मयं महाराज
धम्मराजस्स सावका
तमेव अनुकम्पाय
जम्बुदीपा इधागता ११
“महाराज, हामी धर्मराज बुद्धको श्रावक हौँ, लङ्कामा बुद्धको धर्म प्रतिष्ठापनाहेतु तपाईंकै हित र कल्याणार्थ हामी जम्बुद्वीपबाट यहाँ आएका हौँ ।”
यो गाथामा महेन्द्र थेरले हामी भारतबाट नभई जम्बुद्वीपबाट आएको भनी स्पष्ट रूपमा भनेको देखिन्छ । यसबाट तत्कालीन भारतलाई ‘जम्बुद्वीप’ भन्ने गरिन्थ्यो भन्ने प्रमाणित हुन्छ । प्राकृत भाषामा ‘जम्बुद्वीप’ उल्लेख छ; जुन अशोकको इपु २५० सशाराम लघु शिलालेखमा ब्राम्ही अक्षरमा कुँदिएको छ ।
१० औँ सदीको कन्नड शिलालेखमा पनि प्राचीन भारतलाई ‘जम्बुद्वीप’ नामले उल्लेख गरेको छ । पुराण सृष्टि वर्णन अनुसार यो विश्वलाई सात सङ्केद्रित द्वीप महाद्वीप (सप्त–द्वीप–वसुमती) नामले चिनाएका छन् । सात महासागरले घेरिएका ती हुन् : जम्बूद्वीप, प्लक्षद्वीप, साल्मलिद्वीप, कुशद्वीप, क्रौंचद्वीप, शाकद्वीप, और पुष्करद्वीप । मार्कंडेय पुराण, ब्रह्माण्ड पुराण र वायु पुराणमा पनि जम्बुद्विप सम्बन्धमा विस्तृतरुपमा उल्लेख गरेको पाइन्छ ।
नेपालको जन्म र विकास
नेपाल सम्बन्धमा सर्वप्रथम वैदिक ग्रन्थहरू ‘अथर्व वेद परिशिष्ट’ र पश्चात वैदिक ग्रन्थ ‘अथर्व सिरस उपनिषद्’ मा उल्लेख छ । समुद्र गुप्तको शासनकालको अलाहबाद शिलालिपिमा नेपाललाई सीमासँग जोडिएको ‘छिमेकी देश’ का रूपमा उल्लेख छ । हिन्दु धर्मको सबैभन्दा ठुलो पुराणग्रन्थ स्कन्द पुराणमा ‘नेपाल महात्म्य’ भनी छुट्टै परिच्छेद छुट्याएको पाइन्छ । हिमवत्खण्ड पुराणमा नेपालको चारै वटा युगमा छुट्टाछुट्टै नाम उल्लेख छ । सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन, द्वापर युगमा मुक्तिसोपान र कलि युगमा ‘नेपाल’ को नाम उल्लेख गरी सुन्दरता, शक्ति, वैभवताबारे उल्लेख छ । गण्डकी महात्म्यमा नेपालको उत्पत्ति र विकास (निर्माण) बारे यसरी स्पष्ट उल्लेख गरेको छ :
“पारस्य तनयो निपः
शिवभक्त महामतिः !
समाराद्य शिवम् तत्र
नैपलास्तेंन निर्मितः !!”
शिवभक्त र ठुलो विद्वान् पारको छोरा निपले शिव (भगवान्) लाई राम्ररी आराधना गरेर नेपाल निर्माण गरेको हो । निपले निर्माण गरेको हुनाले नेपाल नामकरण भएको हो । यहाँ शिव भनेको भगवान् पशुपतिनाथ हो । अर्को वृत्तान्त अनुसार ‘ने’ भन्ने ‘मुनि’ द्वारा पालित-शाषित-अनुशासित देश भएकाले ‘नेपाल’ नाम रहन गएको हो ।
रामायणमा रामको धर्मपत्नी सीतालाई माइती नामले ‘जानकी’ (जनकपुरधाम) र ‘वैदेही’ (विदेहपुर) नामले चिनाएको छ; जुन नेपालको ऐतिहासिक धार्मिक स्थल हो । महाभारतमा नेपाललाई ‘किराँत प्रदेश’ का रूपमा र जसको शासक ‘यलम्बर’ महाभारत युद्धमा कौरव पक्षबाट लडेको उल्लेख छ ।
पवित्र आध्यात्मिक केन्द्र
नेपाल यस्तो पवित्र भूमि हो; जहाँ भगवान् बुद्ध जन्मेको र आराध्य शिव भगवान्को देश हो । बौद्धधर्म अनुसार भद्रकल्पमा व्रmकुछन्द बुद्ध, कनकमुनी बुद्ध र शाक्यमुनी बुद्ध गरी तीन जना बुद्ध नेपालमा जन्मेका थिए । एक जना मात्र होइन तीन÷तीन जना महान् बौद्ध पुरुषले आफ्नो उत्तम–उत्पत्ति स्थानका रूपमा नेपाल भूमिलाई छनोट गर्नु पवित्रता, आध्यात्मिकता र दिव्यताको हिसाबले हावापानी र वातावरण भएकाले विश्वकै अद्वितीय देश भनिएको हो । बुद्ध हुनुभन्दा पहिले बोधिसत्वका रूपमा भविष्यमा आफू बुद्ध हुने जन्मभूमि, देश, काल, परिस्थितिको सूक्ष्म निरीक्षण गर्ने गरी छनोट गर्ने गरिन्छ; जसलाई पाँच महाविलोकन भनिन्छ । त्यो उत्तम छनोटमा काल (उचित समय), द्वीप (महादेश), देश (राष्ट्र), कुल (परिवार) र माता पर्दछ । यी पाँचै वटा छनोटमा हाम्रो नेपाल अत्यन्त उपयुक्त पवित्र भूमि हुनु विश्वकै पवित्र आध्यात्मिक भूमि हो भन्ने प्रमाणित हुन्छ । यसरी नेपाल संसारकै बौद्ध र हिन्दु धर्मको आध्यात्मिक केन्द्र हो भन्ने विषयमा थप पुष्टि हुन आउँछ ।
पूर्वीय दर्शन र ज्ञानको उद्गमस्थल
नेपाल पूर्वीय दर्शन र पूर्वीय ज्ञानको उद्गम स्थल हो । संस्कृत महाकवि कालिदासले आफ्नो कुमारसम्भव महाकाव्यको पहिलो श्लोकमा नै नेपालको उत्तर भागमा अवस्थित हिमाल पर्वतशृङ्खला देवीदेवताहरूको दिव्य आश्रयभूमि भएकोबारे उल्लेख गरेको छ । ‘अस्तुतरस्याम दिशी देवातात्म हिमालयनाम नागाधिराज !’ कलि युगमा भारत वर्षको उत्तर दिशामा देवीदेवता ‘हिमालय नाम’ पर्वतराजका रूपमा रहन्छन् । नेपालको हिमाल–कुम्भकर्ण हिमाल, महालङ्गुर हिमाल (ठुलो बाँदर-हनुमान) रामायणको महापात्रको नामबाट छ ।
विश्वनाथ भारतको काशीमा छ किनभने त्यहाँ अन्नपूर्ण माताको पीठ छ । अतः अन्नपूर्ण माताको पीठ भएको हुँदा विश्वनाथ काशीमा गएर बस्नुभएको हो । भारतको काशीमा अन्नपूर्णको पीठ छ तर अन्नपूर्ण हिमाल नेपालमा छ । पवित्र हिमाल कैलाश र पवित्र मानसरोवर नेपालभूमिसँग जोडिएको तिब्बत उत्तरमा छ भने पवित्र हिमाल गौरी–शङ्कर (शिव–पार्वती) नेपालमा छ । गौरी–शङ्कर हिमालको उपत्यकामा पवित्र सरोवर र हिमताल छ । सगरमाथाको टुप्पोमा घाम झुल्किएपछि विश्वको सृष्टि (दिन) हुन्छ । सगरमाथाको टुप्पोमा घाम अस्ताएपछि विश्वमै प्रलय (रात-अँध्यारो) हुन्छ । सगरमाथा विश्वकै दिव्य सकारात्मक ऊर्जा सम्प्रेषण गर्ने एन्टेना हो ।
अतः नेपाल संसारकै पवित्र प्राचीन आध्यात्मिक देश, पार्वतीले रचना गरेको शिवको देश, बुद्धले जन्म लिएको बुद्धको देश, गुरु गोरखनाथ जस्ता वज्रगुरु पद्मशम्भव जस्ता शिद्ध साधकको साधनाको देश हो । रत्नाकर डाँकालाई आद्यात्मिक वाल्मीकि जस्ता महर्षि बनाउने भूमि हो । नेपालको चितवन, वाल्मीकि आश्रमको थलो हो ।
जीवको सृष्टि नेपालमा
विश्वमा जीवको सृष्टि नेपालमा भएको हो । नेपालको दामोदरकुण्ड र कालीगण्डकीमा शालिग्राम पाइन्छ । शालिग्राम भनेको जीवास्मा-जीवात्मा हो । शालिग्राम चक्रनाभ शालिग्राम, शिवानाभ शालिग्राम र हिरन्यगर्भ शालिग्राम करोडौँ वर्ष पुराना छन् ।
नेपालको लिखित इतिहासको प्राचीनता
नेपालको लिखित इतिहास इसाको २ औँ शताब्दीदेखि सुरु भएको प्रमाण छ । माली गाउँमा पत्ता लागेको जय बर्माको मूर्तिको फेदमा लिखित अभिलेखमा स्पष्ट जयबर्मा नाम र संवत् १०७ लेखिएको छ । यो शक संवत् हो । शक संवत्मा ७८ जोडेमा इसं १८५ हुन्छ । यसरी १९ सय वर्षको लिखित इतिहास नेपालको छ । यसको प्रमाण जयबर्माको अभिलेख हो; जुन राष्ट्रिय अभिलेखालय छाउनीमा छ । त्यसपछि मानदेवको चाँगुनारायणको अभिलेख शक संवत् ३८६ (इसं ४६४) पाँचौँ शताब्दीको अन्तिम पूर्वार्धदेखि लिखित इतिहास छ ।
नेपालको राष्ट्रिय झन्डाको पौराणिकता
नेपालको राष्ट्रिय झन्डाको परम्परा १६ सय वर्ष पुरानो छ । मानदेवको मानाङ्क मुद्रामा दुईपतायुक्त झन्डा अङ्कित छ । उक्त झन्डा वर्तमान नेपालको चन्द्रसूर्य अङ्कित दुईपतायुक्त झन्डाको प्रारूप हो । भारत, चीन, अमेरिकालगायतका देशहरूका झन्डा केही दशकअघिदेखि मात्र अस्तित्वमा आएको हो । त्रिकोणात्मक यो झन्डा इलेक्ट्रोन, प्रोटोन र न्युटोनको सङ्केत हो । यसलाई योगको भाषामा इदा, पिङ्गला, सुसुम्ना भनिन्छ । यो ब्रह्माण्डको सृष्टि र सञ्चालन परमाणुबाट हुन्छ भन्ने वैज्ञानिक आधार हो । सूर्य भनेको सौर्य शक्ति र चन्द्रमा भनेको जलशक्ति (तत्व) हो । सूर्यको तापलाई आफ्नो अनुकूलतामा राख्न चन्द्रमा माथि र सूर्य तल अङ्कित छ । सूर्य र चन्द्र अटल रहने जस्तै नेपाल पनि अविभाज्य हुन्छ । उपनिवेश नभएको स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देशका रूपमा चित्रित छ ।
यसरी अहिले आएर भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको ‘अखण्ड भारत’ को कपोलकल्पित मनोगत नक्सा तयार पारेर नेपालको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको हिस्सामा राखिनुले नेपालको भूभागलाई भारतको भनी प्रमाणित गर्न खोजिएको छ । बुद्धकालीन भौगोलिक नक्सा र तत्कालीन देशहरूको नाम र स्थितिबाट पनि उक्त कुरा गलत साबित भएको छ । नेपाल सरकार, संसदमा सबै राजनीतिक दलसहित विभिन्न पार्टी, नागरिक समाजले सोबारेमा कूटनीतिक माध्यमबाट सोबारेका विवाद समाधान गर्नु जरुरी छ ।
लेखक संविधान सभा सदस्य हुनुहुन्छ ।