सिद्धार्थनगर समाचारदाता
सिद्धार्थनगर, जेठ २८ गते । बुटवलमा निर्माण सकिएको पशु वधशाला सञ्चालनमा ढिलाइ भएपछि पुनः टेन्डर प्रव्रिmयामा जाने भएको छ।
करिब दुई दशकदेखिको निर्माण योजना रहेको वधशाला निर्माण सकिएर पनि सञ्चालनमा आउन नसकेको हो। बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला प्रयोगविहीन अवस्थामा छ। समयमा सञ्चालनमा नआउँदा नगरपालिकाले पुनः टेन्डरमा लैजाने तयारी गरेको हो।
वधशाला सञ्चालनका लागि तीन वर्षअगावै सम्झौता भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताउनुभयो। अहिले सञ्चालन गर्ने अन्तिम बेलामा पुरानो प्रक्रिया नमिलेको भन्दै नयाँ टेन्डर खोल्ने तयारी भएको हो। यसबारे छिट्टै सूचना निकाल्ने तयारी रहेको उहाँको भनाइ छ।
अबको केही दिनमै ३० दिने म्याद राखेर इबिडिङ हुने बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो। उहाँले टेन्डरको सबै प्रक्रिया पूरा गरी अर्को आर्थिक वर्षदेखि मात्रै वधशाला सञ्चालनमा आउन सक्ने गरी काम अगाडि बढाएको बताउनुभयो।
वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ। सो विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरेको छ।
कृष्णप्रसाद पौडेलसहित ७० जना व्यवसायी र तीन वटा महिला सहकारी सदस्यले दर्ता गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले तीन वर्षअगाडि नै प्रक्रियाअनुसार निर्माणपछि चलाउने सम्झौता गरेको थियो।
ती व्यक्तिले दर्ता गरेको मासु प्रशोधन प्रालिले त्यसका लागि तीन वर्षअगाडिदेखि एक करोड ९० लाख रुपियाँ बैङ्क ग्यारेन्टी गरेको थियो। वधशाला सञ्चालन र व्यवस्थापन गर्न बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपियाँ बुझाउने गरी सहमति भएको थियो तर उक्त सम्झौतामा प्रक्रिया नपुगेको भन्दै उपमहानगरले पुनः टेन्डर प्रक्रिया थालेको हो। व्यवसायी पौडेलले आफूहरूलाई नगरपालिकाले बेइमान गरेको आरोप लगाउनुभयो।
उहाँले भन्नुभयो– “हामीले नयाँ वर्षबाट चलाउने भनेका थियौँ अहिले त अर्को टेन्डर आउन थालेको भन्ने सुन्दा हामी अचम्ममा परेका छौँ।”
बुटवलका धागो कारखानानजिकै लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर, हेफर इन्टरनेसनलसहितको झन्डै २२ करोड लगानीमा वधशाला निर्माण भएको छ।
यहाँ बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको बुटवल नगरपालिका इन्जिनियर सुमन श्रेष्ठले बताउनुभयो।
यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बुटवलमा दैनिक २५० क्विन्टल कुखुरा र ५०० खसी बोकाको मासु बिक्री हुने गरेको बताइएको छ।