• २४ वैशाख २०८१, सोमबार

पाँचखालमा महिला औद्योगिक ग्राम बनाइने

blog

काठमाडौँ, जेठ २८ गते  । सरकारले काभ्रेको पाँचखाल नगरपालिकामा महिला औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । 

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग महिलाले नै सञ्चालन गर्ने गरी महिला औद्योगिक ग्राम बनाउन लागिएको हो । 

हालै मन्त्रीपरिषद्को बैठकले पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गर्ने गरी निर्णयसमेत गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामका रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहित गरिने घोषणा गरेको छ । सो ग्राम निर्माणका लागि बजेटमार्फत ४१ करोड रुपियाँ समेत विनियोजन गरेको छ ।

ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले डिपिआर तयार गरिसकेकाले एक महिनाभित्र टेन्डर आह्वान गरेर ग्राम निर्माण कार्य सुरु गरिने जानकारी दिनुुभयो । पाँचखाल नगरपालिका–७, श्रीराम पार्टीस्थित ५० रोपनी जग्गामा ५० वटा उद्योग सञ्चालन गर्ने गरी ग्राम निर्माण गरिने उहाँले जानकारी दिनुभयो । महिला औद्योगिक ग्राम निर्माण गर्ने भनेर बजेटमार्फत घोषणा भई बजेटसमेत छुट्याएकाले आगामी आर्थिक वर्षदेखि निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । हाल ग्राममा पर्खाल लगाउने, जमिन सम्माउने र बाटो निर्माण गर्ने काम मात्र सम्पन्न भएको छ । 

महिला औद्योगिक ग्राममा स्थानीय कच्चा पदार्थ प्रयोग गरी महिला उद्यमीद्वारा उत्पादित वस्तु राखिने छ । उत्पादन गरिएका उद्योगहरू राखिने छ । ग्राममा महिला उद्यमीलाई मात्र राखिने छ । कृषि वन पैदावार, स्थानीय कच्चा पदार्थबाट उत्पादित उत्पादनहरू ग्रामभित्र राखिने छ । ग्राम निर्माणका लागि ९७ करोड रुपियाँ लाग्ने नगरपालिकाले जनाएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत औद्योगिक ग्राम स्थापनाको घोषणा गरेका थिए ।