• १६ वैशाख २०८१, आइतबार

हाम्रो सम्पदा

कपिलताल अर्थात् घोडाघोडी मन्दिर (फोटो फिचर)

blog

कैलाली, जेठ २८ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ को सुखडमा अवस्थित घोडाघोडी मन्दिर भक्तजनका लागि प्रख्यात मानिन्छ । यो मन्दिर पूर्वपश्चिम  राजमार्गको दक्षिण भागमा राजमार्गको किनारमा रहेको छ ।

घोडाघोडी ताल अर्थात् सिमसार क्षेत्रको बायाँतर्फ रहेको यस ताललाई कपिलताल पनि भनिन्छ। धार्मिक र पर्यटकीय दृष्टिकोणले यो स्थल निकै नै प्रख्यात रहेको छ। किम्बदन्ती अनुसार कुनै समयमा यहाँ रात भरी मुसलधारे पानी परेपछि पानीले डुबाएर यो ताल बनेको हो। त्यस बेला त्यहाँका राजाले यसबारे जानकारी पाएपछि, यस स्थलको जानकारी लिन आफ्नो आज्ञाकारी घोडालाई पटाउँदा, ताल क्षेत्र नपुग्दै मरेको किम्बदन्ती छ । त्यसपछि राजाले अर्को घोडा पठाएका थिए भन्ने छ । सो घोडा पनि मरेकोले राजाले त्यस ठाउँमा कुनै दैवी शक्ति भएको ठानेर तालको नजिकै यो देवीको मन्दिर स्थापना गरी  धार्मिक विधिअनुसार पूजा अर्चना गर्न थालियो।

मन्दिरको गर्भ गृहमा घोडा र घोडीको मूर्तिहरू बिच भागमा छ भने उक्त मूर्तिको दायाँ र बायाँ बाघको मूर्ति रहेको छ। साथै मन्दिर परिसरमा अन्य देव देवताहरूको मूर्ति समेत रहेकोले यस क्षेत्रलाई धार्मिक स्थल पनि मानिएको छ। माघशुक्ल पञ्चमी र माघे सङ्क्रान्ति पर्वमा यस मन्दिरमा भक्तजनहरूको अत्यधिक भिड हुने साथै यस मन्दिरमा पूजा अर्चना गर्नाले आफूले चिताएको मनकामना पूरा हुने, रोग हुने जनविश्वास समेत रहेको  यहाँका पुजारी बताउँछन्। 

यस मन्दिरमा थारु समुदायका भक्तजनहरू अत्यधिक आउने गर्दछन् भने यस मन्दिरको पुजारी पनि थारु समुदायका रहेका छन्। मन्दिर क्षेत्रमा अन्य विभिन्न देव देवताका मन्दिरहरू समेत रहेका छन्।