• ६ वैशाख २०८१, बिहिबार

अकुपन्चर विधिको उपचारप्रति बिरामीको आकर्षण बढ्दो

blog

अकुपन्चर बिधिबाट उपचार गर्दै बिरामी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ २६ गते । हाडजोर्नी दुख्ने हड्डी सम्बन्धी बिरामीका लागि पहिलो पटक सञ्चालन भएको अकुपन्चर विधिबाट उपचार गराउन बिरामीको आकर्षण बढेको छ । बिहीबारबाट सुरु भएको एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुरु भएको हो ।

ढाड दुख्ने बिरामीले पीडित सिमकोट गाउँपालिका –४ की मनीषा लामाले पहिलो पटक यो विधिबाट उपचार गर्न पाएको बताउनुभयो । यसअघि ढाड दुख्ने समस्याबाट ग्रसित भएर उपचार गरेकी उहाँले बिरामी पनि कम भएको बताउनुभयो । शिविरमा अकुपन्चर सेवाबाट यसको उपचार हुने जानकारी पाएपछि शिविरमा उपचार गर्न पुगेकी लामाले पहिलो दिन सात वटा नुडल्स लगाएपछि दुखाइमा कमी आएको सुनाउनुभयो ।

शिविरमा ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालबाट उपचारका लागि आइपुगेका चिकित्सक स्कन्द डागीले हाडजोर्नी दुख्ने बिरामीको पहिलो दिनबाट उपचार लगातार भइरहेको बताउनुभयो । उहाँले एक जना बिरामीको अवस्था हेरि नुडल्सको सङ्ख्या लगाउनु पर्ने बताउँदै आधा घण्टादेखि ४५ मिनेटसम्म बिरामीको शरीरमा नुडल्न लगाउने गरिएको बताउनुभयो । 

अधिकांश ५० वर्षभन्दा माथि उमेर समूहका बिरामी यो विधिबाट उपचार गराइरहनु भएको छ । दुई जना नौ र दश वर्षका बालबालिकाले पनि यो विधिबाट उपचार गराएका छन् । जिल्ला अस्पतालबाट खटिएकी वरिष्ठ अनमी सरिता बोहराले पहिलो दिन १७१ जनाले यो विधिबाट उपचार गरेको बताउनुभयो ।

त्यस्तै, दोस्रो दिन २४३ जना बिरामीको उपचार भएको छ । अझै बिरामी धेरै भएकाले सङ्ख्या बढ्ने उहाँले बताउनुभयो । उपचारमा आउने पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ । यो विधिबाट यहाँ उपचार गरिएको पहिलो पटक भएको चिकित्सकको भनाइ छ ।