• ८ वैशाख २०८१, शनिबार

युनियनद्वारा ६ पत्रकार पुरस्कृत

blog

विभिन्न विधामा पुरस्कृत भएका स्याङ्जाका पत्रकार । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, जेठ २६ गते । नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो नवौँ अधिवेशन तथा साधारण सभाका अवसरमा विभिन्न ६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष इन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । लम्साल र रिजाल दुवैको स्थायी घर स्याङ्जा हो । 

यस्तै, प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । खुमा अर्याल फाउण्डेसनद्वारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने, रुद्र जमुना शैक्षिक प्रतिस्ठानद्वारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्वारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट रामप्रसाद भट्टराई पुरस्कृत हुनुभएको प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही ५ हजार र प्रमाणपत्र रहेको छ । 

पुरस्कृत भएका पत्रकारलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, युनियनका गण्डकी प्रदेश अध्यक्ष टङ्क अधिकारी, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेलगायतले सम्मानित गर्नुभयो ।