• ८ पुस २०८१, सोमबार

गौर हत्याकाण्डसम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

blog

काठमाडौं, जेठ २५ गते । गौर हत्याकाण्डसम्बन्धी मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । उक्त मुद्दाको पेसी जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । 

बिहीबार पनि न्यायाधीश राउतको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । आज न्यायाधीश राउतका लागि तीन वटा छुट्टाछुट्टै कजलिस्ट तोकिएको थियो । जसअनुसार न्यायाधीश राउतको एकल इजलास, राउत र कुमार रेग्मीको संयुक्त इजलास तथा राउत र सुष्मालता माथेमा अर्को संयुक्त इजलास तोकिएको थियो ।

न्यायाधीश राउतको एकल इजलासमा परेको गौर हत्याकाण्ड समेतको सूची रहेको क्लष्टरबाट बन्दी प्रत्यक्षीकरणको एक मात्रै रिट हेरेर अन्य रिट निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ ।