• ३० वैशाख २०८१, आइतबार

स्वच्छ खाद्यवस्तुमा सचेतना अभियान जरुरी

blog

काठमाडौँ, जेठ २५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भएपश्चात् हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’ मनाउँदै आएको छ । नेपालमा पनि विगत १५ वर्षदेखि कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवस मनाउँदै आएको हो । 

विभागले जेठ १८ देखि नै सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यो दिवस मनाएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार दिवसको उपलक्ष्यमा मूल समारोह कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यव्रmममा कृषिमन्त्री डा. वेदुराम भुसालले उपभोक्तासमक्ष स्वच्छ खाद्य पु-याउनु आवश्यक होइन, उपभोक्ताको मौलिक अधिकारभित्र परेकाले स्वच्छ खाद्यवस्तुमा ध्यान दिन आग्रह गर्नुभयो । 

स्वच्छ खानाका लागि खाद्य र पोषण शिक्षासम्बन्धी सचेतना अभियान जरुरी रहेको बताउँदै उहाँले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्ने कुरा निश्चित समूहमा मात्रै पुग्ने गरेको छ, सबैमा यसको जानकारी पुग्नुपर्ने बताउनुभयो । 

खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा एउटा नयाँ अभियान चलाउनुपर्ने र त्यसका लागि मन्त्रालयले रकम छुट्याएर पनि काम गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्य स्वच्छतासम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा अड्किएको र मैले संसद्मा प्रस्तुत गर्न सभामुखसँग आग्रह गरिसकेको छु, अब चाँडै नै खाद्य स्वच्छतासम्बन्धी विधेयक संसद्मा आउँछ ।” विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य पदार्थको मापदण्ड कडाइका साथ लागु हुनुपर्ने कुरामा जोड दिनुभयो । खाद्य पदार्थको मापदण्ड मानव जीवन रक्षासँग जोडिएको बताउँदै उहाँले विभागलाई नियमन र अनुगमन गर्ने अधिकार दिएपछि त्यसलाई कारबाही गर्ने, अझै कडाइ गर्ने जस्ता ठोस नीति नभएका कारण चाहेर पनि ठोस रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो । 

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन संविधान निर्माण भएको तीन वर्षभित्र आउनुपर्नेमा अहिलेसम्म नआएको भन्दै गुनासो गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर प्रत्येक वर्ष करिब ५५ करोड मानिस बिरामी हुने गरेका छन् भने अस्वस्थकर खाना उपभोगले दुई लाख ३० हजारको मृत्यु हुने गरेको छ । डब्लुएचओको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा बढी रोग लाग्ने गरेको पाइएको छ । सरकारले १३७ वटा खाद्य पदार्थको मापदण्ड र स्वच्छतासम्बन्धी मापदण्ड तयार गरी लागु गरिसकेको छ ।