• ८ वैशाख २०८१, शनिबार

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री

blog

बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डा.प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २३ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताउनुभएको छ । मङ्गलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको छ ।

उहाँले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री महतले अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताउनुभयो । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको जानकारी पनि दिनुभयो ।

श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताउनुभयो । उहाँले मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पार्नुभयो । उहाँले इमान्दारिता कायम राखेकाले स्वास्थ्य समूहहरू निजी स्वार्थ भएकाहरू पछि लागेको बताउनुभयो । अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रूपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

अर्थमन्त्रीले जिम्मेवारीमा बसेकाहरू सबै असत्य, झुटा र असत्य काम गर्न बसेको भन्नेकुरा हुन नसक्ने बताउनुभयो । उहाँले कसैले लेखिदियो त्यो चाहिँ सत्यमाथि सत्य भयो भन्ने तर्क गर्नुभयो । उहाँले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शङ्का नगर्न आग्रह गर्नुभयो । 

त्यस्तै,अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरूले नै निर्णय गरेको बताउनु भयो। उहाँले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रूपमा लिएको स्वीकार गर्नुभयो ।  उहाँले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेको दाबी गर्नुभयो । उहाँले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताउनुभयो ।