• ९ असार २०८१, आइतबार

एकल पुरुषहरूलाई मासिक एक हजार भत्ता

blog

विधुर भत्ताको चेक हस्तान्त्रण गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ

राजकुमार भट्टराई 

खोटाङ, जेठ २३ गते । खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरूलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो ।  

स्थानीय तहको दोस्रो निर्वाचन पश्चात् पहिलो कार्यपालिकाको बैठकले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गतेदेखि लागु हुने गरी गाउँपालिकाले कार्यविधि निर्माण गरेर भत्ता प्रदान गरेको छ । 

साउन १ गते देखिको एकमुस्टमा जेठ २२ गते (सोमबार) विधुर भत्ता प्रदान गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख गिरिराज रानाले जानकारी दिनुभयो । 

६ वडा रहेको पालिकामा पहिलो चरणमा २४ जनाले विधुर भत्ता पाएका छन् । उनीहरूलाई सोमबार गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडाध्यक्षहरू गेहेन्द्रमान राई, डोलराज बस्नेत र चिरञ्जीवी कार्कीले संयुक्त रूपमा भत्ताको चेक हस्तान्तरण गर्नुभएको छ ।   

रावा बेसी गाउँपालिकाको विधुर भत्ता कार्यविधि २०७९ अनुसार श्रीमतीको मृत्यु पश्चात् विवाह नगरी बसेका ४५ वर्ष माथिका पुरुषहरूले मासिक १ हजार भत्ता पाउने छन्। विधुर भत्ताका लागि नेपाल सरकारको सेवा सुविधा नलिएको, गैर सरकारी निकायबाट तलब, पेन्सन तथा निवृत्त भरण वा सामाजिक सुरक्षा भत्ता नलिएको हुनुपर्ने छ । 

लाभग्राहीको खातामा ३÷३ महिनामा भत्ता रकम जम्मा हुनेछ । गाउँपालिकाको वडा नम्बर १, ४, ५ र ६ का लाभग्राहीलाई राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय रावा बेसीबाट र वडा नम्बर २ र ३ का लाभग्राहीलाई प्रभु बैङ्क शाखा कार्यालय लामिडाँडाबाट वितरण गर्ने व्यवस्था मिलाइएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।