• १२ वैशाख २०८१, बुधबार

एमाले नगर कमिटी सचिवसहितद्वारा सामूहिक राजीनामा

blog

सामुहिक राजिनामा दिएका एमाले स्थानीय कार्यकर्ताहरु । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, जेठ २२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । 

राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरू, अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय युवा सङ्घ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष तथा सदस्यलगायत छन् । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताले झण्डै एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरेका थिए । 

उहाँले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एक ढिक्का पार्दै अगाडि लैजान ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा सङ्गठनात्मक सुधारको लागि सुझाव पत्र पेस गरिएको जानकारी दिनुभयो ।

इमान्दार कार्यकर्ताहरूले पार्टी सुधारको माग गर्दा पनि नदेखेझैँ गरी वार्ता, छलफल र एउटा उचित निष्कर्ष निकाल्नुको साटो व्यक्तिगत आलोचना गर्ने, व्यक्तिगत कारबाही गर्छौँ भन्दै हिँड्ने, पार्टी सङ्गठनात्मक र संस्थागत रुपलेभन्दा पनि व्यक्तिगत र गुटगत तरिकाले हेर्ने, व्यवहार गर्ने, पार्टीका माथिल्लो तहसम्म पनि खबर गर्दा नसुनेजस्तो गर्ने गरी आलटाल गरेकाले बाध्य भएर राजीनामा दिएको भण्डारीले बताउनुभयो ।

नगरभित्र दुःखमा परेका जनताहरूको सेवा गर्न स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने उहाँको भनाइ छ । १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयन तर्फ पार्टी नेतृत्वले चासो नदिएको उहाँले आरोप लगाउनुभयो । 

आगामी दिनमा पार्टीमा आमूल परिवर्तन गरी जनताको मनोभावनाअनुसार काम गर्ने गरी वार्ता गर्न आएमा संवाद र वार्ताको ढोका पनि खुल्ला राख्ने उहाँको भनाइ छ । एमाले सिद्धार्थनगर–८ का अध्यक्ष रामचन्द्र रेग्मीले पार्टी सिद्धार्थनगरका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिइएको बताउनुभयो ।