• १ चैत २०८२, आइतबार

माओवादी नेता कोइरालाद्वारा राजीनामा

blog

माओवादीका धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइराला ।

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) चैत १ गते । नेकपा (माओवादी) का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज रहनुभएका कोइरालाले पार्टीबाट राजीनामा दिनुभएको हो ।

कोइरालाले पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गर्दै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिनुभयो ।उहाँले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी पद त्याग गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो ।

राजीनामा पत्रमा पार्टीले निर्वाचनलाई सङ्घर्षको मोर्चाको रूपमा उपयोग गर्ने नीतिअनुसार २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएको उल्लेख गरिएको छ ।

पार्टीले भ्रष्टाचारविरुद्ध कारबाही, राष्ट्रिय स्वाधीनताको रक्षा र एमसीसी खारेजजस्ता एजेन्डासहित निर्वाचनमा भाग लिएको उहाँले बताउनुभयो ।

यस्तै शिक्षा, स्वास्थ्य, विद्युत र पिउने पानी निःशुल्क गर्ने तथा अग्राधिकारसहित समाजवादी सङ्घीयता स्थापना गर्ने कार्यक्रम लिएर जनतामाझ पुगे पनि अपेक्षित मत प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

 जनतामाझ केही प्रभाव भए पनि आंशिक मत मात्र प्राप्त भएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी लिँदै पदमा बसिरहन उचित नहुने ठहर गर्दै राजीनामा दिएको बताउँनुभयो । कोइराला नेकपा (माओवादी) को केन्द्रीय सदस्य समेत रहनु भएको थियो ।