• १३ वैशाख २०८१, बिहिबार

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

blog

अर्जुन चौपारी गाउँपलिका १ गुडुले खोलामा वृक्षारोपण गरिँदै।

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा अर्जुन चौपारी गाउँपालिका -१ मा दुई हजार बिरुवा रोपण तथा सरसफाइ गरिएको छ । गाउँपालिका र डिभिजन वन कार्यालय स्याङ्जाको आयोजनामा गुडुले खोलामा रहेको सार्वजनिक जग्गामा बिरुवा रोपण र सरसफाइ गरिएको हो । 

हरेक वर्ष डिभिजन वन कार्यालयले एक ठाउँमा वृक्षारोपण गर्ने प्रचलन रहेकोमा यो पटक अर्जुन चौपारी रोजिएको हो । 

गुल्मोहर एक हजार, कल्की पाँच सय, तेजपत्ता एक सय, आप पिप्ले दुई सय र अमला दुई सय बिरुवा रोपिएको छ । बिरुवा रोपणमा गाउँपालिका कर्मचारी, आमा समूह, वन कार्यालय, नेपाल आर्मी तथा सयौँ विद्यार्थीको सहभागिता थियो ।

गाउँपालिका कार्यालय नजिकै रहेको सार्वजनिक जग्गालाई हरियाली बनाउने उद्देश्यले बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । सबैको सहयोगमा रोपिएका बिरुवाको संरक्षण पालिकाले गर्ने र अगामी दिनमा समेत खाली ठाउँमा वृक्षारोपण गरेर हराभरा अर्जुन चौपारी बनाउने तिवारीको भनाइ छ । 

वन कार्यालयले सहयोग गरेपछि वृक्षारोपण सहज भएको बताउँदै कार्यक्रममा सहभागी सबैप्रति तिवारीले अभार व्यक्त गर्नुभयो ।