• १२ पुस २०८१, शुक्रबार

सुदूरपश्चिमको स्वास्थ्य पीडा

blog

देशका छ वटा प्रदेशमा चिकित्सा शिक्षा अध्ययन सुरु भएको वर्षौं भइसक्दासमेत सुदूरपश्चिममा यस विषयको पढाइ सुरु हुन सकेको छैन । चिकित्सा शिक्षामा पनि एमबिबिएसमा देशभरि निजी र सरकारी गरी २१ वटा शिक्षण संस्थामा प्रत्येक वर्ष करिब एक हजार ८९५ विद्यार्थी अध्ययनरत छन् । यसका साथै चिकित्सा शिक्षाका विभिन्‍न विधामा र विभिन्‍न तहमा अध्ययन–अध्यापन भएको वर्षौं भइरहेको छ । 

सुदूरपश्चिम प्रदेशमा भने हालसम्म न मेडिकल कलेज छ न त स्वास्थ्य विज्ञान प्रतिष्ठान नै । केही वर्षअघि गेटामा मेडिकल कलेज बनाउने घोषणा गरेर भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्‍न हुने चरणमा छ । सडकबाटै देखिने अग्ला र आकर्षक भवन भने सेतो एप्रोन लगाएर चिकित्सक कुरिरहेजस्ता देखिन्छन् । ती भवनमा कहिले बिरामी जाँचिने हुने, अझै टुङ्गो छैन । 

विद्यार्थीले चिकित्सा शिक्षा कहिले पढ्न पाउने हुन् र एउटा बिरामी जिन्दगी जितेर मुस्कुराउँदै कहिले फर्केर घर जाने हुन् अहिले भन्‍न सकिने अवस्था छैन । बनाइएका भौतिक संरचनाको रङ्ग खुइलिँदै जाँदा जनताका चिकित्सा शिक्षाका रङ्गिन सपना पनि खुइलिँदै जाने त होइनन् भन्ने कोणबाट विभिन्‍न व्याख्या, विश्लेषण र आलोचना सुरु भइरहेका छन् । स्वाभाविक पनि हो तर विवाद हुनुका पछाडिको कारण के हो ? चिकित्सा शिक्षा सञ्‍चालन नहुनुमा को कति जिम्मेवार छ ? अब यस विषयमा बहस हुनु जरुरी छ ।

मोडालिटीमा जुँगाको लडाइँ

विगतका वर्षदेखि गेटामा बनेको संरचना कुन मोडालिटीमा सञ्‍चालन हुने भन्ने विषयको बहस र विवादमा र जुँगाको लडाइँ चलिरहेको छ । एकथरीले विश्‍वविद्यालय बनेन भने बर्बाद हुन्छ, सबै कुरा ध्वस्त हुन्छ र सबै सपना तुहिन्छन् भन्दै आरोपित गरिरहेका छन् । उनीहरूको तर्क छ– मेडिकल विश्‍वविद्यालय बन्‍न सकेन भने सुदूरपश्चिम उँभो लाग्दैन, विश्‍वविद्यालय भन्दा अरू मोडालिटीमा टसमस हुँदैनौँ ।

अर्काथरी देशमा भएका विश्‍वविद्यालयको दूरावस्था देखेर र देखाएर विश्‍वविद्यालय सम्भव नहुने, राज्यले धान्‍न नसक्ने तर्क गरिरहेका छन् । उनीहरूले विश्‍वविद्यालय हुन दिन्‍नौँ, कि मेडिकल कलेज कि स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक अन्य स्वीकार्य हुन नसक्‍ने अडान राखेका छन् । त्यसै गरी सम्बन्धित विषयका बुद्धिजीवी छन्, जसलाई थाहा छ कुन उपयुक्त हो र कुन अनुपयुक्त ! हाललाई कुन सम्भव छ र कुन असम्भव ! जनतालाई लाभ कसरी हुन्छ भन्‍ने कुरा पनि उनीहरू जानकार छन् । यद्यपि विभिन्‍न स्वार्थ समूहको जुँगाको लडाइँमा भने उनीहरू मौन देखिएका छन् । बुद्धिजीवी भनिएकाहरूको पनि छुट्टैै स्वार्थ छ । जुन हो– मोडालिटी बने पनि भिसी, डिन, विभागीय प्रमुख तथा अन्य पदका लागि मौकाको पर्खाइ ।

मोडालिटीसँग गुनासो नभएका जनता

भकारी मालिकलाई भकारीको मुसो मार्नुछ– धान खाइरहेको मुसो मर्नु पर्छ, मुसा सेतो बिरालाले मारोस् कि कालो बिरालोले कि जालमा पारेर होस् । भकारीको धान जोगिनु प-यो र वर्षभरि खान पुग्नु प-यो । कुनै पनि भकारी मालिकलाई कालो बिरालाले मुसा मार्नुभन्दा धान खाएकै बेस, या सेतो बिरालोले मुसा मार्नुभन्दा धान खाएकै बेस वा जालमा परेर मुसा मर्नुभन्दा धान खाएकै बेस लाग्दैन होला । 

हो, यस्तै तत्काललाई सुदूरपश्चिमका जनतालाई भएको छ । सामाजिक सञ्‍जाल र आमसञ्‍चार माध्यमदेखि सडकसम्म भइरहेका बहसबारे जनतालाई न जानकारी छ न त चासो नै । जनतालाई मात्र चासो छ, तत्काल अस्पताल सञ्‍चालन हुनु प-यो र सहज र सुलभ ढङ्गले स्वास्थ्य उपचार पाउनु प¥यो । आँगनमा स्वास्थ्य शिक्षा पढ्न पाउनु प-यो, उपचारको अभावमा अकालमै कसैले ज्यान गुमाउन नपरोस् अर्थात् उपचारका लागि सयौँ किलोमिटर टाढा जान नपरोस्, जनताको चासो र माग यति हो । 

जनतालाई सोध्यो भने कुनै पनि जनताले भन्दैन होला– हामी फलानो मोडालिटीबाट मात्र उपचार गर्छौं र सन्तान पढाउँछौँ भनेर । कुनै पनि पक्षधरले झुठा सूचना दिएर जनतालाई भ्रमित गर्नु हुँदैन । जनताको अनविज्ञताको फाइदा उठाएर सामाजिक सञ्‍जाल र समाचारको खपतका लागि समाज बिथोल्नु हुँदैन ।

तिक्तताको मारमा सर्वसाधारण 

मोडालिटीमा सबैका आ–आफ्नै हठका कारण बर्सेनि हुने नीति तथा कार्यव्रmम र बजेटमा सञ्‍चालनको घोषणा गरे पनि सञ्‍चालन भने हुन सकिरहेको छैन । सरकार स्वयं अलमलमा देखिन्छ । हरेक समयमा बेग्ला–बेग्ला मोडालिटी घोषणा गर्छ र घोषाणा गरेकै दिनदेखि सुरु हुन्छन्– पक्ष र विपक्षमा बहस । यी बहसका बिचमा सर्वसाधारण सदैव मारमा परिरहेका छन् ।

कुनै गम्भीर रोग लाग्यो वा ठुलो दुर्घटना प-यो भने उपचार गर्न आज पनि गतिलो अस्पताल छैन, एम्बुलेन्स कुर्दाकुर्दै ज्यान गुमाएका उदाहरण हाम्रासामु थुप्रै छन् । उपचारका लागि जाँदा–जाँदै कर्णाली नकट्दै बाटोमै ज्यान गुमाएका थुप्रै उदाहरण हाम्रासामु छन् । उपचार गराउन सिमापारी जाँदा पाइला–पाइलामा ठगिएका र लुटिएका थुप्रै उदाहरण नभएका होइनन् । उपचार गराउन सीमा पारी अथवा राजधानी रिफर गरिँदा पनि जान नसकी उपचारभन्दा मृत्युको बाटो रोजेको थुप्रै उदाहरण पनि छन् । यो परिस्थितिबाट गुज्रिरहँदा पनि जनताको स्वास्थ्यको चिन्ता र बहस हुनुपर्ने होइन र ? तैपनि बहस अन्तै मोडिएको छ । 

यसरी हुन सक्छ समाधान 

दिल्लीको विशाल एम्स अस्पतालले सुरुमा ५० जना विद्यार्थीबाट पढाइ सुरु गरेको थियो, जतिखेर एम्स सुरु भयो त्यतिखेर एम्ससँग आफ्नो भवन पनि थिएन । सफदरगंज अस्पतालबाट सेवा सुरु गरी पाँच वर्ष त्यसैमा सञ्‍चालन भयो र विकसित हुँदै जाँदा आजको विशाल एम्स बन्यो । 

त्यसबेला सुरुमै एम्स त्यति सानो सङ्ख्यामा चल्न दिँदैनौँ वा चलाउन सक्दैनौँ भनेको भए, यो विशाल एम्स बन्थ्यो होला ? जुन मोडालिटीमा बने पनि सबैभन्दा पहिला अस्पताल सञ्‍चालन हुनु पर्छ । अस्पताल सञ्‍चालन भएको तीन वर्षपछि मात्र विद्यार्थी भर्ना गरेर चिकित्सा शिक्षा अध्यापन सुरु गरिनु पर्छ । त्यसैले पहिलो वर्ष जे छ, त्यही स्वीकार गरौँ, आउने वर्षमा थप बेड सञ्‍चालनका लागि पहल गरौँ । तीन वर्षमा बिरामीको विश्वास बढ्छ अनि बेड सङ्ख्या पनि । त्यसपछि आफ्नो गतिमा संस्था अघि बढ्छ ।

संस्था अघि बढे, बलियो हुँदै गए विश्‍वविद्यालय बनाउन सकिन्छ । आपसमा लडी मात्र रहने हो भने सरकार हाम्रै आन्दोलन देखाइ रहन्छ र हामीप्रति बेवास्ता भइरहन्छ । हामी सामाजिक सञ्‍जालदेखि सडकसम्म आन्दोलन गरिरहन्छौँ र हाम्रा बिरामी र विद्यार्थी कि सिमापारी कि कर्णालीपारी जान बाध्य भइरहन्छन् । उपचार गराउन कर्णाली पारी र सिमापारी पनि जान नसक्नेहरू घर खेत बेचेर आएको रकम निजी अस्पताललाई बुझाइरहन्छन् । 

त्यसैले गेटामा जे बन्‍न खोज्दै छ बन्‍न दिऊँ र जनतालाई सर्वसुलभ स्वास्थ्य उपचार र आँगनमा पाउने स्वास्थ्य शिक्षाबाट वञ्चित नगरौँ । मोडालिटी आफैँमा केही होइन । सञ्‍चालन, विकास र व्यवस्थापन कसरी अघि बढ्छ भन्‍ने महत्त्वपूर्ण हो । तीन लाख ३५ हजार १२६ विद्यार्थी पढाइ रहेको त्रिभुवन विश्वविद्यालय पनि विश्वविद्यालय हो । ८१ विद्यार्थी पढाइरहेको राजर्षी जनक विश्वविद्यालय पनि विश्वविद्यालय नै हो । विश्‍वविद्यालय आफैँमा केही होइन, व्यवस्थापन महìवपूर्ण हो । 

 

Author

टेकराज अवस्थी