• १५ असोज २०८०, सोमबार

गोली लागेकी किशोरीको उपचारको क्रममा मृत्यु

blog

मृतक किशोरी ।

प्रेमराज सिम्खडा 

कालीकोट जेठ २१ गते। कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी एक किशोरीको मृत्यु भएको छ। शुक्रबार बिहान मकै गोड्न गएका बेला एक स्थानीयले चलाएको भरुवा बन्दुकको गोली लागेर घाइते किशोरी एलिसा सहकारीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो।  

चरालाई हानेको गोली लागेर घाइते भएकी किशोरीको उपचारकै क्रममा शनिबार राति मृत्यु भएपछि घटना सार्वजनिक भएको हो। 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले घटना शंकास्पद भएको बताउनुभयो। घटनाको विषयमा जानकारी पाए लगत्तै प्रहरी टोली पठाए पनि बन्दुक चलाउने मान्छे पहिचान नभएको उहाँको भनाइ छ। घटनाको अुसन्धान भइरहेको बताउनुभयो। स्थानीय जनप्रतिनिधि र स्थानीयले गोली लागेको नभनी लडेको भन्नु भनेपछि उपचारमा समस्या भएको बताइएको छ। 

प्रेसर कम भएकाले अप्रेशन हुन नसक्दा किशोरीको मृत्यु भएको अस्पतालले जनाएको छ। वडा नम्बर  ५ का वडा अध्यक्ष मनबहादुर सहकारीले घटनाका बारेमा आफू अनविज्ञ भएको जानकारी दिनुभयो।

प्रहरीको सक्रियतामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता भएपछि किशोरीको पोस्मार्टम भएको छ। जाहेरी सुर्खेतमा दर्ता भए पनि घटनाको अनुसन्धान भने कालीकोट प्रहरीले गर्ने भएको छ। गोली चलाउनेको पहिचान हुन सकेको छैन। किशोरी जनता माध्यमिक विद्यालय रुप्सामा कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो।