• १४ वैशाख २०८१, शुक्रबार

प्रदेश सभाका संसदीय समितिले थाले काम

blog

सुदूरपश्चिम प्रदेश सभा । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २१ गते । सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुले काम थालेका छन् । प्रदेश सभामा रहेका चार वटा विषयगत समितिहरुले प्रारम्भिक काम थालेका हुन् । सबै समितिहरुको बैठक बस्ने कार्य भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । “समितिहरुले बैठक बसेर आफ्नो काम थालेका छन्” उहाँले भन्नुभयो । 

प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक लेखा समिति गरी चार वटा संसदीय समितिहरु रहने व्यवस्था छ । चार वटै समितिका सदस्य मात्रै मनोनयन भएका छन् । समितिका सभापति चयन गरिएको छैन । सभापति नरहेकाले ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नेगरेको छ ।

चार समितिमध्ये सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पाउनेछ । बाँकी तीन समितिका सभापति सत्तापक्षले लिनेछन् । सरकारमा रहेका दलको सङ्ख्या चार र समितिहरु तीन वटा मात्रै रहेकाले कुन समितिका सभापति कुन दलले पाउने भन्ने निक्र्योल सत्तारुढ दलका नेताहरुले गर्ने प्रदेशसभा सदस्य दिवानसिंह विष्टले बताउनुभयो । “यसमा कसरी मिलाउँछन, त्यो नेताहरुको जिम्मेवारी हो” उहाँले भन्नुभयो । 

यसैबीच, आइतबार विधायन तथा प्रदेश मामिला समितिको बैठक बसेको छ । ज्येष्ठ सदस्य दिवानसिंह विष्टको अध्यक्षतामा समितिको बैठक बसेको हो । अहिले समितिका सभापति नरहेकाले सभापति चयनको बारेमा छलफल गर्न आफ्नो अध्यक्षतामा बैठक बसेको विष्टले बताउनुभयो । 

उहाँका अनुसार सार्वजनिक लेखा समिति बाहेक बाँकी तीन वटा समितिको एक हप्ताभित्र सहमतिमा सभापति चयन गर्नेबारे बैठकमा छलफल गरिएको छ । “एक हप्तामा सहमतिमा सभापति चयन हुन नसके त्यसपछि प्रक्रियामा जाने निर्णय गरेका छौं” विष्टले भन्नुभयो । सरकारमा रहेका चार वटै दलका समितिको सभापतिमा दाबी रहेको बुझिएको छ । सभापति चयन गरेर त्यसपछि समितिको कामलाई तदारुकताका साथ अगाडि बढाइने उहाँले बताउनुभयो । 

कार्यकक्षविहीन समिति

यसैबीच चार वटै संसदीय समितिहरु कार्यकक्षविहीन रहेका छन् । प्रदेश सभाको अघिल्लो कार्यकालमा समितिका कार्यकक्ष बनाइएका कोठाहरु अहिले संसदीय दलका कार्यालय बनेपछि समितिहरुका लागि कोठा नरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

समितिहरुका लागि कोठा नहुँदा अहिलेसम्म बैठक प्रदेश सभा सचिवालयका कर्मचारीको कार्यकक्षमा बस्नेगरेको छ । समितिको कार्यकक्ष नरहेकाले सचिवालयका कर्मचारीको कार्यकक्षमा बैठक बसेको सदस्य विष्टले जानकारी दिनुभयो ।