• १३ वैशाख २०८१, बिहिबार

अन्तरपालिकाबीच समन्वय र सहकार्य गर्ने सहमति

blog

साझा सरोकारका विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै तीन वटै गाउँपालिकाका अध्यक्ष।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २१ गते। ताप्लेजुङका तीन छुट्टा–छुट्टै स्थानीय तहले अन्तरपालिकाबीच समन्वय र सहकार्य गरेर काम गर्ने भएका छन्। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला र मेरिङ्देन गाउँपालिकाले साझा सरोकारका विषयमा समन्वय तथा सहकार्य गर्ने भएका हुन्। 

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अग्रसरतामा छिमेकी गाउँपालिकासँग साझा सरोकारका विषयमा सामूहिक धारणा निर्माण गर्न, अन्तरपालिका समन्वय, सहकार्य तथा सिकाइ आदानप्रदान गर्न आयोजित कार्यक्रममा आपसी सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो। 

आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङका अनुसार मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको सिमानास्थित तिरतिरे–दोभान सडक खण्डमा समन्वय गरेर काम गर्ने सहमति भएको छ। 

यस्तै मैवाखोला र मेरिङ्देन गाउँपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल मेरिङ्देन झरनाको प्रवर्द्धन र विकास साथै आठराई त्रिवेणी र मेरिङ्देन गाउँपालिकाको सिमानास्थित मैवाखोलामा रहेको मोटरेबल पुलको संरक्षण कार्य समन्वय र सहकार्यमा गर्ने सहमति भएको उपाध्यक्ष आङ्बुहाङले जानकारी दिनुभयो।

त्यस्तै कार्यक्रममा अन्तरपालिकाबीच समन्वय, सम्बन्ध विस्तार, साझा सरोकार र सवाल तथा आ–आफ्नो पालिकाले गरेका कामको अनुभवका विषयमा छलफल भएको मैवाखोला गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो। उहाँकाअनुसार अन्तरपालिकाबीच अनुभव साटासाट साथै समन्वय, सहकार्य गरी काम गरेमा स्थानीय सरकारले गर्ने कार्य थप प्रभावकारी हुने पनि छलफलबाट निष्कर्ष निकालिएको छ।

कार्यक्रममा मैवाखोला गाउँपालिका अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु, उपाध्यक्ष आङ्बुहाङ तथा मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम र उपाध्यक्ष दुर्गा चोङ्बाङ लिम्बू लगायतको सहभागिता रहेको थियो। उहाँहरू तीनवटै पालिकाका पदाधिकारीहरू युवा अवस्थाका रहनुभएको छ। 

यसैबीच तीनवटै गाउँपालिकाका पदाधिकारीहरूको टोलीले मैवाखोला गाउँपालिकास्थित पर्यटकीयस्थल रमिते भ्यू पोइन्टको अवलोकन तथा भ्रमण पनि गर्नुभएको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो।